शलिना कुँवर
कोरोना महामारीसँगै देशमा स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारका बारेमा बहस भइरहेको छ। विशेषतः देश संघीयतामा गएसँगै स्थानीय तहबाटै के कस्तो स्वास्थ्य सेवा दिने भन्ने सम्बन्धमा बहस भए। अझै पनि स्वास्थ्य सेवाको मापदण्डभित्र जनताले प्रत्यक्ष पाएको उपचार वा रोग लाग्नै नदिने सरकारको कदम पर्दैनन्, केवल अस्पतालका शय्या गणना हुन्छन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केही स्थानीय तहको सक्रियता सुन्दर देखिन्थ्यो। उपलब्ध काठ दाउराबाटै ‘क्वारेन्टिन’का लागि पूर्वाधार बनाउने पनि थिए। हामीसँग ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४’ पनि छ।
यो अवस्थामा काठमाडौं प्रेसले स्वास्थ्यसँग सम्बन्धित निकायका आधिकारिक व्यक्तिसँग स्वास्थ्य क्षेत्रको अवस्था र विकास सम्बन्धमा अन्तर्वार्ता गर्दैछ। प्रस्ततु छ, स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तसँग काठमाडौं प्रेसकर्मी शलिना कुवँरले गरेको वार्ता :
जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?
विगतको तुलनामा अहिले बाजुरामा स्वास्थ्य अवस्था राम्रै छ। पहिले गम्भीर रोग लाग्दा अस्पताल नआउने बिरामी आजभोलि ज्वरो आउँदा पनि अस्पताल आई चेकजाँच गरेर औषधि खाने चेतनामा वृद्धि भएको छ।
गर्मी बढेसँगै बाजुरामा खासगरी झाडापखाला, टाइफाइडका बिरामी अत्यधिक बढेका छन्। बाजुराका केही स्थानमा दूषित पानीको समस्या हुने भएकाले ती स्थानका बासिन्दामा पखाला र टाइफाइड र ज्वरोका बिरामीको मात्रा बढ्ने गरेको पाइन्छ। सामान्य ज्वरो आएका बिरामी अस्पतालमा आउने गरेकै छन्।
त्यस्तै : नसर्ने रोगमा मुख्यतः क्यान्सरका बिरामी आइराखेको पाइन्छ, तथापि जिल्लामै उपचार गर्न गाह्रो भइरहेको पाइन्छ। विभिन्न अस्पतालमा डायग्नोसिस भएपछि आर्थिक सहयोगको सिफारिसका लागि बिरामी आइराखेका छन्। अहिले जिल्लामा मुटुरोगी, उच्च रक्तचाप, सुगर, बढ्दो क्रममा छ। बाजुरामा किड्नीको समस्या भएका बिरामी पनि केही मात्रामा छन् भने दमको समस्याले छातीको समस्या भएका बिरामी पनि जिल्लामा बढ्दो क्रममा छन्। त्यस्तै ः केही मात्रामा मानसिक रोगी रहेका छन्।
सामान्यदेखि जटिल समस्या भएका बिरामी बाजुरामा भए पनि अहिले सामान्य रोगको उपचार मात्रै हुने गरेको पाइन्छ। जिल्लामा रहेका अस्पतालमा डायलासिस मेसिन जस्ता प्रविधि नभएकाले विशिष्ट रोगको भने उपचार गरिँदैन, त्यसका लागि बिरामीले जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।
जिल्ला अस्पताल बाजुरामा अल्ट्रा साउन्ड, एक्स–रे र पिसिआर जस्ता मेसिन छन्। कोरोनाको डायग्नोसिस गर्नुपर्ने भए पिसिआर ल्याबको व्यवस्था छ। रगत जाँच, युरिन जाँचजस्ता आधारभूत परीक्षण सेवा जिल्ला अस्पताल बाजुरा र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट दिँदै आएका छौँ।
केही स्वास्थ्य चौकी र गाउँपालिकाले पनि एक्स–रे, अल्ट्रासाउन्ड मेसिन राखेका छन्। केही गाउँपालिकाले आफैँ एक्स–रे तथा अल्ट्रासाउन्डजस्ता मेसिन तथा डक्टर राखेर स्वास्थ्य सेवा दिँदै आइरहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराद्वारा स्वास्थ्य क्षेत्रमा के कस्ता कार्यक्रम हुँदै छन् ?
जिल्ला स्वास्थ्य कार्यालय बिरामीलाई आफैँ उपचार गर्ने संस्था होइन। स्वास्थ्य सेवाका लागि गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था छन्। तिनले नियमित रूपमा बिरामीको उपचार गरिरहेका हुन्छन्। उनीहरुका लागि जिल्ला स्वास्थ्य कार्यालयले औषधि, खोप तथा परिवार नियोजनका साधन उपलब्ध गराउँदै आएको छ। कुपोषण न्यूनीकरणका लागि बालबालिकालाई आरयुटिएफ (रेडी टु युज थेराप्युटिक फुड) उपलब्ध गराउँदै आएका छौँ।
त्यस्तै, स्वास्थ्यकर्मीको क्षमता वृद्धि गराउँछौँ। आर्थिक वर्ष ०७८ भित्र स्वास्थ्यसम्बन्धी केही शिविर सञ्चालन गरेका थियौँ। जुन स्थानका जनता स्वास्थ्य सेवाको पहुँचबाट टाढा छन्, त्यहाँ आवश्यक अनुसार नाक, कान, घाँटी, प्रजनन लगायत स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्दै आएका छौँ।
अहिले जिल्लामा गर्भवती महिलालाई कम्तीमा चारपटक गर्भ जाँच गराउन अनिवार्य गरिएको छ। जिल्लाका करिब ७० प्रतिशत गर्भवती महिलाले चारपटक अस्पतालमा आई गर्भ जाँच गराएका छन्। ६० प्रतिशत महिलाले स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिएका छन्। चारपटक गर्भ जाँच गराएर स्वास्थ्य संस्थामै प्रसूति सेवा लिएका महिलालाई सरकारबाट पाउने प्रसूतिभत्ता उपलब्ध गराउँदै आएका छौँ।
बाजुरा भौगोलिक विकट भएकाले कुनै कुनै पालिकाका स्थानीयले सदरमुकाममा आई स्वास्थ्य सेवा लिन समेत कठिन अवस्था छ। ती स्थानका गर्भवती महिलालाई सुलभ स्वास्थ्य सेवा पु¥याउन सकिएको छैन। उनीहरुलाई कहिलेकाहीँ हेलिकप्टरमा ‘राष्ट्रपति उत्थान कार्यक्रम’मार्फत नेपालगन्ज, काठमाडौंमा रिफर गर्ने गरेका छाैँ। अझै पनि जिल्लामा गर्भवती र सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य सेवा दिन चुनौती छ। गर्भवतीलाई थप सेवा दिन कर्मचारीलाई ‘स्किल बर्थ अटेन्डेन्स’ (एसबिए) तालिम दिनुपर्ने हुन्छ, यो तालिम न्यून भएकाले कठिनाइ भइरहेको हो।
वैशाखदेखि जिल्लाभरि ५८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छौँ। अहिले निर्वाचन नजिकिँदै गर्दा विशिष्ट किसिमका अभियान र शिविर सञ्चालन भइराखेका छैनन्। स्वामी कार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा कुपोषणको भयावह अवस्था छ, त्यहाँ कुपोषणको व्यवस्थापनका लागि आवश्यक सामग्री विभिन्न निकायले उपलब्ध गराइराखेको छ।
यहाँ स्वास्थ्य सेवा प्रदान गर्न के कस्ता समस्या छन् ?
यहाँ विशेषतः विशेषज्ञ चिकित्सकको अभाव छ। अहिले हामीले एमबिबिएस डाक्टरद्वारा सेवा उपलब्ध गराउँदै आएका छौँ। भौगोलिक रूपमा विकट भएकाले सबैतिर बाटोको सुविधा पुगेको छैन। गर्भवती महिलाको तुरुन्तै अपरेसन गर्नुपरे जिल्ला अस्पतालमा अपरेसन सेवा छ, तर कतिपय स्थानबाट दुई–तीन दिन हिँडेर जिल्ला अस्पताल बाजुरा आइपुग्नुपर्छ, सबै मानिस जिल्ला अस्पताल आएर सुविधा लिन भने सक्दैनन्।
जिल्लामा के कति स्वास्थ्य संस्था छन् ?
सदरमुकाममा एक जिल्ला अस्पताल, कोल्टीमा एउटा प्राथमिक स्वास्थ्य केन्द्रसँगै जिल्लाभरि २६ वटा स्वास्थ्यचौकी छन्। आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ गरी जिल्लाभरि जम्माजम्मी ७८ स्वास्थ्य संस्था छन्।
स्वास्थ्य कार्यालय बाजुराको आगामी योजना ?
जिल्लाका हरेक बालबालिकाले सबै खोप पूरा गरून् भन्ने भावी योजना छ। गत वर्ष हामीले ‘पूर्ण खोप गाउँपालिका’ घोषणा गरेका छाैं। यहाँ गरिबी, बेरोजगारी, खाद्यान्नको अभाव भएकाले एउटै स्वास्थ्य क्षेत्र मात्र सुदृढ गरेर हुँदैन। कुपोषणको एकदमै भयावह अवस्था छ, त्यसकारण कुपोषणलाई न्यूनीकरण गर्न बहुक्षेत्रीय कार्यालयसँग समन्वय गरेर थप काम गर्ने सोचेका छाैं।
परिवार नियोजनका शिविर सञ्चालन गर्ने, परिवार नियोजनका साधन सबै स्वास्थ्य संस्थामा वर्षैभरि उपलब्ध गराउने र त्यहाँका कर्मचारीको क्षमता विकास गराउनेजस्ता कार्यक्रम आगामी योजनामा छन्। विशेषगरी गर्भवती, सुत्केरी र जन्मेका बच्चाको मृत्युदर यहाँ बढी छ।
यसको न्यूनीकरणका लागि कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, भौतिक संरचना अभिवृद्धि गर्ने योजना छ। बाजुरामा कालाजार, मलेरियाको प्रकोप पनि कर्णालीको छेउछाउतिर पाइएको छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्रोत–साधन पर्याप्त हुनुपर्छ, त्यसो भयो भने २०७९ मा थप काम गर्नेछौँ। त्यस्तै, क्षयरोग र एचआइभी एड्स लगायत रोगको क्षेत्रमा काम गर्ने थप योजना बनाएका छौँ।
प्रतिक्रिया