धनगढीः बडीमालिका बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमा पर्छ। बाजुराको त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिका तथा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एवं अछामको रामारोसन गाउँपालिकाको करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा बडीमालिका फैलिएको छ।
बडीमालिका क्षेत्र समुद्र सतहबाट २ हजारदेखि ४ हजार २ सय मिटरसम्मको उचाइमा अवस्थित छ। प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने जनैपूर्णिमा मेलामा बडीमालिका क्षेत्रमा विशेष भीड लाग्ने गरेको छ।
बाजुरा जिल्लाका स्थानीय तहहरू, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार गरेर बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बडीमालिका धार्मिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए। उनले भने, ‘बडीमालिकालाई संरक्षित क्षेत्रको रूपमा विकास गर्नुपर्छ। हजारौँ धार्मिक पर्यटकहरू आउने सम्भावना छ। बडीमालिकाको सम्पदालाई जोगाउनुपर्छ।
आगामी आर्थिक वर्षमा संरक्षित क्षेत्रको रूपमा बजेट विनियोजन हुन्छ।’ बडीमालिका क्षेत्र पुग्न, बस्न र फर्किन कठिन र कष्टकर छ। बडीमालिका क्षेत्रको यात्रामा सामान्य सुविधा एवं सहजता भेट्न मुस्किल छ। तीर्थालुका लागि विश्रामस्थानको व्यवस्था बडीमालिकामा छैन। उकालो र भिरको बाटोले यात्रुलाई समस्या हुने गरेको छ।
बडीमालिका पुग्ने पर्यटक वा तीर्थालुले पानीको जोहो पनि आफैँ गर्नुपर्ने बाध्ययता छ। धार्मिक तथा तीर्थस्थलका रूपमा रहेको बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको छ।
वन तथा वातावरण मन्त्री शाहीले बडीमालिका लगायत क्षेत्रको अध्ययन जारी रहेको बताए। उनले भने, ‘पालिकाले माग गर्दै प्रदेश हुँदै मन्त्रालय जाने हो। वन तथा वातावरण मन्त्रालयले मन्त्रीपरिषद्बाट निर्णय गराउछ।’ बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमामा पर्ने बडीमालिका क्षेत्रको संरक्षणका लागि स्थानीय तहहरू, सुदूरपश्चिम प्रदेश सरकार र नेपाल सरकारले संयुक्त रूपमा योजना तयार गर्ने भएका छन्। स्थानीय तहहरुका योजना प्रदेश सरकारले छनौट गर्दै संघीय सरकारमा पठाउने छ।
प्रतिक्रिया