बाजुरा : जगन्नाथ गाउँपालिका-३ मनिकाँडाकी कमला शाहीले गरिबी निवारणका लागि नयाँ लद्यु उद्यम विकास कार्यक्रम अन्र्तगत सीपमुलक तालिम पाएपछि उद्यमी बन्न थालेकी छन् । किरिब एक महिनाको अवधीमा तालिममा नमकीन, दालमोट बनाउँन सिकेपछि शाही आजभोली घरमै आफै उत्पादन गर्न थालेकी हुन् । तर उत्पादित नमकीन तथा दालमोटले उचित बजार नपाउँदा शाही चिन्तित छन् ।
उनले भनिन् सीप सिकियो, सीपलाई उद्योगमा परिवर्तन गर्ने आफ्नो लक्ष्य थियो । तर सिकिएको सीप सदुपयोग हुन भने गाह्राे छ । घरमै हातले उत्पादन गरेका खानेकुराहरु कोही किन्दैनन् । स्थानीय बजारसम्म लगेपनि मेसिनद्धारा बनाएका वस्तुहरु किन्ने गरेको र आफूले उत्पादन गरेका नमकीन, दालमोट किन्ने मान्छे कमै मात्रामा भेटिने गरेको उनको भनाई ।
नमकीन व्यवसायलाई उद्योगकै रुपमा आगडी सार्ने उद्देश्य रहेपनि भनेजस्तो लगानी र विक्रि गर्ने उचित बजार नपाउँने समस्याले मेहनत खेरजाने हो की भन्ने चिन्ता लाग्ने गरेको शाहीले बताएकी छन् । उनले बजारको नमकीन भन्दा राम्रो र स्वादिलो नमकीन तथा दामोट बनाउँने गरेको बताइन् ।
जगन्नाथ गाउँपालिकाले अघिल्लो वर्ष एक जनालाई छनोट गरी महिलाहरुलाई आत्मनिर्भर बनाउँने उद्देश्य सहीत उद्यमशिलता तालिममा पठाएको थियो । उक्त तालिममा कमला सहभागि भएकी थिइन् । नमकीन बनाउँन चाहिने सबै सामाग्री जोडेर बनाउँन भने त्यति सजिलो छैन्, सामान यहाँको स्थानीय बजारमा पाइँदैन्, नमकीन उत्पादन गर्न चाहिने आवश्यक सामाग्रीहरु नेपालगञ्ज लगायतका शहरबाट मगाउँने गरेको कमलाले बताएकी छन् ।
नेपालगञ्जबाट मैदा, मोटर, वदाम र प्याकिङ्गका लागि प्लाष्टिकका थैलीहरु खरिद गर्दा भाडा सहीत महङ्गो पर्ने गरेको उनले बताइन् । तर यति धेरै महङ्गो लगानी गरेर बनाएको नमकीन विक्रि नहुँदा लगानी खेर जाने गरेको बताएकी छन् । बजारको भन्दा सस्तोमा विक्रि वितरण गर्दा समेत भनेजति खपत नहुने गरेको उनको भनाइ छ ।
बजारमा एक प्याकेट नमकीनको ३० रुपैयाँमा भन्दा बढी मुल्य पर्ने गर्दछ । कमला सोही नमकीन २० देखि २५ रुपैयाँसम्म विक्रि वितरण गर्दै आएकी छन् । प्याकेट सानो ठुलो हेरी सोही अनुरुप मुल्य निर्धारण गरी विक्रि गर्ने गरेको उनले बताएकी छन् । तर बजारको भन्दा धेरै सस्तो विक्रि गर्ने गरेको भएपनि पसलबाटै किन्ने गरेको उनले बताइन् ।
आत्मनिर्भर बन्नका लागि सुरु गरिएको उद्यमले भने जस्तो मुल्य सहीत बजार नपाउँदा उनी चिन्तित छन् । उनले भनिन् आफूसंग आम्दानीको स्रोत केही छैन्, घर खर्च चलाउँन कुखुरा पालेकी छु, थप आम्दानी बढाउँन र उद्यमी बन्नका लागि नमकीन बनाउँन थाले । तर विक्रि नहुँदा घरमै खाने र खेर जानेको गरेको छ, केहिलेकाँही स्कुल जाने केटाकेटीहरु खोज्छन्, अलिअली विक्रि हुन्छ ।
स्थानीय बजारमा कसैले माग गरेपछि अर्डरअनुसार आफूले सकेजति स्वादिष्ट, गुणस्तरीय र छिटोछरितो नमकीन बनाएर पठाउँने सकिने बताएकी छन् । यता जगन्नाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले केकति उत्पादन गरेको भन्ने खबर पालिकामा नभएको र एकीन गरेर बजारसम्म ल्याउँने कुराको बारेमा सोच्ने बताएका छन् । यस्ता उत्पादनहरुलाई बजारसम्म पुर्याउँन पालिकाले अनुदानका कार्यक्रम समेत सञ्चालन गरिरहेको उनले बताए ।
बाजुरा जिल्लामा यस्ता सीप सिकेका धेरै महिला छन् । सिकेको सीपलाई केही मात्रामा सदुयोग गर्ने गरेको भएपनि उचित बजार तथा मुल्य नपाउँदा लगानी र मेहनत संकटमा पर्ने गरेको छ । स्थानीय स्तरमै उत्पादित वस्तुलाई बजार सम्म निर्यात गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने महिला उद्यमीको भनाइ रहेको छ ।
प्रतिक्रिया