गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५१
Dho

भूस्वर्ग ‘बडीमालिका’ धार्मीक यात्रा बिहीबारबाट सुरु हुने

बाजुरा
रमित वि.क.
मङ्गलबार, साउन २९, २०८१
भूस्वर्ग ‘बडीमालिका’ धार्मीक यात्रा बिहीबारबाट सुरु हुने

बाजुरा : धार्मीक तथा पर्यटकीय गन्तव्य बडीमालिका धार्मीक यात्रा बिहीबारबाट औपचारिक रुपमा सुरु हुने भएको छ । साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेला अवलोकन गर्न भारतबाट समेत दर्शनार्थीहरू बडीमालिका आउने गर्दछन् ।बडीमालिका सहित बुढीनन्दा क्षेत्रको यात्रापनि सुरु हुने भएको छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बाजुराका एक दर्जन बढी शक्ति पीठमा एकसाथ मेला लाग्ने गरेको छ । समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेको बडीमालिका पुग्न तीर्थालुहरुले सदरमुकाम मार्तडीबाट तीन दिन लाग्ने गरेको छ । दुरीका हिसाबले दुई दिनमा पुगिने भएपनि धार्मीक मान्यता अनुसार तीन दिन लगाएर पुग्नुपर्ने हुन्छ ।

हरेक वर्षको साउन वा भदौमा पर्ने बडीमालिका मेलामा झरी होस् कि, वर्षा जस्तो भएपनि भक्तजनकहरुले त्यसको प्रवाह नै नगरी यात्रा गर्ने गर्दछन् । १४ हजार फीट उचाईमा रहेको बडीमालिकाको यात्रालाई धार्मीक रुपमा महत्वपुर्ण मानिन्छ । आस्था बोकेर गएकाहरुले यात्रा अवधीको थकाई भूल्ने गरेका छन् ।

बडीमालिकाको सुन्दरता र आस्थाले थकाई देखि अन्य सबै प्रकारका कष्टहरु बिर्सीने गरेको जानेहरुले बताउने गरेका छन् । बडीमालिका नगरपालिकाबाट पनि यो वर्ष बिशेष टोली जाने भएको छ । बडीमालिका मन्दिर क्षेत्र भने त्रिवेणी नगरपालिकामा पर्ने गरेको छ ।

पूजा आजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी टोली पुजा सहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भईसकेका छन् । सरकारी टोली डोटीबाट १२ र जुम्लाबाट १० दिन पूर्व नै प्रस्तान गर्ने धार्मीक मान्यता रहि आएको छ ।

हिँडेरै नै पुग्नुपर्ने विश्वास रहेपनि प्रस्तान गरिएपनि हाल सवारी साधानको प्रयोग गरेर आउने गरेका छन् । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ ।

सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ ३ दिन अघिदेखी हिड्न थालेका हुन् । उचित सुरक्षा व्यवस्था सहीत प्रहरी टोली पनि खटाईने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।

मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो ।

मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् ।

करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने बडीमालिका नगरपालिकाका नगर अमर खड्काले बताएका छन् । देश विदेशबाट पनि तीर्थालु पुग्ने गर्दछन ।

बडीमालिका माईको दर्शनका लागि विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तीथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गड्वाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ । सोही दिन त्रिबेणी नगरपालिकामा रहेको बडीमालिका र नाटेश्वरी, जुकोटको स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिकामा रहेको बडालेख, बडीमालिका नगरपालिकाको दुनालेक, गौमुल गाउँपालिकाको डडुल्ले सहीतका शक्तिपीठमा मेला लाग्ने गरेको छ ।  

प्रतिक्रिया