गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

सुदूरपश्चिममा ५४.२ प्रतिशत खेतमा रोपाइँ सम्पन्न

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार २५, २०८१
सुदूरपश्चिममा ५४.२ प्रतिशत खेतमा रोपाइँ सम्पन्न

धनगढीः समयमै वर्षा भएसँगै आइतबारसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले बताएका छन्।

सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ। सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन्।

प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। तीमध्ये कैलालीमा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

त्यस्तै डोटीमा १० हजार ६ सय ७०, डडेलधुरामा ६ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा ९ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ।

कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ। प्रदेशमा ७३ हजार ६ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ।

धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ। नेपाली समाजमा धानको महत्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग आवश्यक छ।

पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ। ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ।

प्रतिक्रिया