गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०५:४५

बाजुराका विद्यालयमा दिवा खाजासंगै तरकारीको प्रयोगले विद्यार्थी दर बढ्याे

५ महिनाको अवधीमा सोझैँ १ करोड रकम किसानको खातामा
बाजुरा
रमित वि.क.
बिहीबार, चैत ०८, २०८०
बाजुराका विद्यालयमा दिवा खाजासंगै तरकारीको प्रयोगले विद्यार्थी  दर बढ्याे

बाजुरा: साना हुर्कदै गरेका बालबालिकालाई पोषणयुक्त खाना आवश्यक पर्छ । हाम्रो समाजमा धेरै बालबालिका पोषणयुक्त खानाको कमीले कुपोषण हुने, पुड्को हुने, कम तौलका हुने मात्र होइन, रक्तअल्पता लगायत दीर्घ खालका रोगबाट समेत पीडित छन् ।

कुपोषणले शारीरिक मात्र होइन, बौद्धिक विकासमा समेत असर गर्ने अध्ययनहरूले देखाएको छ । यस सम्बन्धमा भएका अध्ययनहरूले उपयुक्त खाजाको व्यवस्था गर्न सके बालबालिकालाई दिनभरका लागि चाहिने पोषणतत्व तथा क्यालोरिको एकतिहाइ भाग विद्यालय खाजा कार्यक्रमले पूर्ति गर्न सक्ने उल्लेख गरेका छन् ।

विद्यालयमा नियमित पोषणयुक्त खाजा खुवाउन सक्ने हो भने बालबालिकाको शारीरिक र बौद्धिक विकासमा त सहयोग पुग्छ नै, साथै विद्यालयप्रति बालबालिकाको अपनत्व बढ्ने, विद्यालयलमा समेत पारिवारिक वातावरण दिन सकिने भएकाले बालबालिकामा त्यसको सकारात्मक प्रभाव पर्नेजस्ता महत्वपूर्ण उपलब्धी हासिल गर्नका लागि बाजुरा जिल्लाका सामुदायिक विद्यालयमा (WFP) को आर्थिक सहयोग मर्सीकोरको प्राविधिक सहयोग र गिफ्ट नेपालद्धारा सञ्चालित दिवा खाजासंगै अनिवार्य हरियो तरकारी प्रयोग गर्ने गरिएको छ ।

विद्यालयमा दिवा खाजासंगै तरकारीको प्रयोगले एकातिर विद्यालयमा दैनिक विद्यार्थी उपस्थिति दर बढ्नुका साथै नियमित पोषणयुक्त खाजा खुवाउने कार्यक्रमले बालबालिकाको शारीरिक र बौद्धिक विकासमा सहयोग पुगेको गौमुल गाउँपालिका–६ सालीकोटमा रहेको नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकायाले बताएका छन् ।

विद्यालयमा दैनिक विद्यार्थीहरु उपस्थित नहुने, पढाई प्रति समेत वास्ता नगर्ने कतिपय समस्या विगतमा रहेको भएपनि दिवा खाजासंगै अनिवार्य हरियो तरकारी प्रयोग विगत केही समयबाट विद्यार्थीहरु अनिवार्य विद्यालयमा हाजिर हुने गरेको गौमुल गाउँपालिका–४ कालादहमा रहेको कीर्तिचौरमा माविका प्रधानाध्यापक खडक शाहले बताएका छन् ।

हाम्रो समाजका धेरै परिवारमा आर्थिक विपन्नता, पोषणको मात्रा पुग्ने खालका खाद्य वस्तु अभाव, स्तरीय खाना किन्न रकम अभाव, धेरै समय श्रममा खर्चिनुपर्ने, बालबालिकालाई  खाना र खाजा बनाउन फुर्सद नहुने कारणले विद्यालयमा नजाने समस्या हट्नुका साथै आफुहरुको बारीबाट तरकारी विक्री हुन थालेपछि तरकारी उत्पादन गर्ने किसानहरु संख्या बढ्नुका साथै आम्दानीको स्रोत समेत वृद्धि भएको गौमुल गाउँपालिका–६ बाम्नीका किसान तिलक विकले खुसी व्यक्त गरेका छन् ।

जिल्लामा पोषणयुक्त खाना र खाजा खुवाउन नसक्ने अवस्था एकातिर छ भने अर्कातिर चेतना कमीले घरमा भएका सीमित स्रोतसाधन के लाई महत्व दिई खर्च गर्ने भन्ने निर्णय क्षमता अभाव, समाजमा इज्जत प्रतिष्ठा बढाउने चाहानामा बजारमा पाइने जस्तोः चाउचाउ, कोकाकोला, फ्यान्टा, चिजबलजस्ता खानेकुरामा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने गरी आफुहरु लागिरहेको गिफ्ट नेपालका कार्यक्रम संयोजक कृष्ण अधिकारीले बताएका छन् ।

बाजुराका २ सय ५० सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमबाट २८ हजार ९ सय ७२ विद्यार्थीहरुले विद्यालयमा दिवा खाजासंग प्रति विद्यार्थीले ४० ग्राम तरकारी प्रयोग गरिरहेको मर्सीकोरका सन्तोष शर्माले बताएका छन् । बाजुराका कृषकहरुले विद्यालयमा नियमित तरकारी आपूर्ति गरे वापत ५ महिनाको अवधीमा सोझैँ १ करोड रकम किसानहरुको खातामा गएको गिफ्ट नेपालका लेखा तथा प्रशासन अधिकृत कृष्ण बहादुर रोकायाले बताएका छन् । आगामी आर्थिक वर्षबाट सम्पूर्ण विद्यालयमा दिवा खाजाका साथमा हरियो तरकारी र दाल समेत प्रयोग गरिने उनले बताएका छन् ।

यस्तो अवस्थामा विद्यालयको दिवा खाजामा प्रोटिनको मात्रा बढी भएका खानाको सूची बनाई विद्यालयमा प्रयोग गराउँदा खाजाको प्रभावकारिता बढ्छ । यसरी स्थान, क्षेत्र र समुदाय विशेष फरक क्यालोरी सहितको सम्भावित सूची निर्माण गरी अभिमुखीकरण गर्ने, स्थानीय बाली तथा खाद्य सामग्री प्रयोग गरी खाजा खुवाउने, विद्यालयलाई पुरस्कृत गर्ने, निर्मित निर्देशिकामा विज्ञ र सरोकारवालाको सहभागीतामा परिमार्जन गर्ने, निर्देशिका कार्यान्वयनलाई अनिवार्य गर्नेजस्ता काम गर्न सकेमा विद्यालय खाजाको प्रभावकारिता वृद्धि गर्न सकिन्छ ।

प्रतिक्रिया