गाैमुल खबर डटकम शुक्रबार १९, भदौ २०८३ ०९:५२

शव कुर्नेदेखि राहत खोज्नेसम्मका पीडितका लागि ‘नेशनल भोलेन्टियर फोर्स’को निःशुल्क खाना सेवा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १७, २०८३
शव कुर्नेदेखि राहत खोज्नेसम्मका पीडितका लागि ‘नेशनल भोलेन्टियर फोर्स’को निःशुल्क खाना सेवा

नुवाकोट ःबाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला राहत र उद्धारका लागि नुवाकोट पुगेको नेशनल भोलेन्टियर फोर्सले विस्थापित, प्रभावित, शव लिन तथा पहिचानका लागि आएका आफन्त र उद्धारमा खटिएका स्वयंसेवकलाई लक्षित गर्दै निःशुल्क खाना सेवा शिविर सुरु गरेको छ।

विपद्मा घरबार गुमाएका तथा आफन्तको शव खोज्दै र पहिचान गर्दै लामो समयसम्म नुवाकोट-रसुवा क्षेत्रमा बस्नुपर्ने परिवारका लागि बस्ने र खाने व्यवस्था नै अर्को ठूलो समस्या बन्दै गएपछि फोर्सले खाना सेवा सुरु गरेको हो। फोर्सका केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठका अनुसार विपद्को समयमा राहत सामग्रीसँगै प्रभावितको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न खाना सेवा सञ्चालन गरिएको हो।

“विपद्मा परेकाहरूका लागि सबैभन्दा पहिलो आवश्यकता खाना हो। आफन्तको शव लिन आउने वा पहिचानका लागि धेरै दिनसम्म बस्नुपर्ने परिवार होटलमा बस्न सक्ने अवस्थामा हुँदैनन्। उनीहरूको यही समस्यालाई ध्यानमा राखेर निःशुल्क खाना सेवा सुरु गरेका हौँ,” अध्यक्ष श्रेष्ठले भने। खाना सेवा सुरु गरिएको पहिलो दिनमै ५५ जनाभन्दा बढीले बिहानको खाना सेवा लिएका छन्।

फोर्सले आवश्यकता र प्रभावितको संख्या हेरेर सेवा थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। चार दिनदेखि शव कुरिरहेका राजकुमार धादिङका स्थानीय राजकुमार सुन्दास चार दिनदेखि आफ्ना काका नरेन्द्र सुन्दासको शव कुरिरहेका छन्। आफन्त गुमाएको पीडामाथि शव पर्खाइ, बस्ने ठाउँ र खानाको समस्या थपिँदा उनी निकै कठिन अवस्थामा छन्। आन्टीसहित नुवाकोट आएका सुन्दासका लागि निःशुल्क खाना शिविर केही राहत बनेको छ। “आफन्त गुमाएको पीडा त छँदैछ।

शव कुरेर बस्दा कहाँ बस्ने, के खाने भन्ने अर्को समस्या हुन्छ। यहाँ आएर खाना पाउँदा खुसी लाग्यो,” उनले भने। उनका अनुसार विपद्को समयमा पीडित परिवारका लागि यस्ता मानवीय सहयोगको ठूलो अर्थ हुन्छ। “सरकारले गर्नुपर्ने काम युवाहरूको टिमले गरिरहेको छ। समस्यामा पर्दा यस्तै मानवीय सहयोगको आवश्यकता हुन्छ,” सुन्दासले भने। ‘गोजीमा पैसा हुँदैन, पीडा एकातिर छ, खर्चको चिन्ता अर्कोतिर’ प्रभावित कामी डोल्मा तामाङले पनि फोर्सको निःशुल्क खाना सेवाप्रति खुसी व्यक्त गरिन्।

“गोजीमा पैसा हुँदैन। पीडा एकातिर छ, लामो समय बस्नुपर्दा खर्चको चिन्ता अर्कोतिर हुन्छ। यस्तो अवस्थामा निःशुल्क खाना पाउनु ठूलो सहयोग हो,” उनले भनिन्। उनका अनुसार विपद्को समयमा गरिएको सहयोग आर्थिक मूल्यभन्दा माथि मानवीय अर्थ बोकेको हुन्छ। “यो कामले ठूलो धर्म आर्जन हुन्छ,” उनले भनिन्। ‘आफन्त गुमाउनेभन्दा शव कुर्नुको पीडा थप गहिरो’ राजकुमारका लागि सबैभन्दा ठूलो पीडा आफन्त गुमाउनु मात्रै होइन, शवको पर्खाइ पनि हो।

“आफन्त गुमाउँदाको पीडामा थप शवको पर्खाइ छ। सुरुमा काम गर्नेहरू यतिन्जेलसम्म बाँचे होलान् भन्ने आशा पनि छैन। शव भए पनि छिटो पाइयोस् भन्ने हो। तर त्यो पनि कति दिन कुर्नुपर्छ थाहा छैन,” उनले भने। यो पीडा आफ्नो मात्रै नभएको भन्दै उनले शव लिन र पहिचानका लागि आएका सयौँ परिवारको अवस्था उस्तै रहेको बताए। “राज्यको उद्धार संयन्त्र अझ प्रभावकारी हुनुपर्छ। कम्तीमा बेपत्ता परिवारले शव बुझ्ने अवस्थासम्म खान र बस्न पाउने व्यवस्था हुनुपर्छ। आफन्त गुमाएर आएका परिवारलाई अर्को पीडामा राख्नु हुँदैन,” उनले भने।

राहत सामग्रीसहित मैदानमा ६० स्वयंसेवक नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्स बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा व्यवस्थापनका लागि स्वयंसेवकसहित मैदानमा खटिएको छ। केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको नेतृत्वमा ६० जना स्वयंसेवकको टोली नुवाकोटमा परिचालित छ। फोर्सले १० लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री लिएर नुवाकोट पुगेको जनाएको छ। टोलीले स्थानीय आवश्यकता र प्रभावितको अवस्थाको पहिचान गरी परिवारहरूलाई आवश्यक राहत सामग्री वितरण गरिरहेको छ।

राहत वितरणसँगै खाना, लत्ताकपडा तथा तत्काल आवश्यक पर्ने सामग्रीको व्यवस्थापनमा समेत स्वयंसेवकहरू सक्रिय छन्। फोर्सले खाना सेवा शिविरमा जुत्ता, चप्पल, झोला तथा बसोबाससम्बन्धी समस्या भएका प्रभावितलाई समेत आवश्यक सहयोग गरिरहेको जनाएको छ। नुवाकोटमा राहत तथा उद्धारका काम सम्पन्न गरेपछि फोर्सको टोली रसुवा जाने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए। आवश्यकताअनुसार थप स्वयंसेवक परिचालन गरी अन्य सहयोगका काममा समेत खटिने फोर्सको तयारी छ।

विपद्मा राहत मात्रै होइन, ‘मानवीय साथ’ विपद्को समयमा राज्यका संयन्त्र उद्धार र व्यवस्थापनमा परिचालित भए पनि प्रभावित परिवारले भोगिरहेका दैनिक मानवीय समस्याहरू भने उत्तिकै गम्भीर छन्। विशेषगरी आफन्तको शव लिन वा पहिचान गर्न टाढाबाट आएका परिवारका लागि खाना र बसोबासको समस्या ठूलो चुनौती बनेको छ। यही अवस्थालाई नजिकबाट नियाल्दै नेशनल भोलेन्टियर फोर्सले राहत सामग्री वितरणसँगै निःशुल्क खाना सेवा सुरु गरेको हो।

फोर्सको यो पहलले विपद्मा राहत भनेको सामग्री बाँड्नु मात्र नभई पीडितको दुःखमा साथ दिनु, उनीहरूको तत्कालीन आवश्यकता बुझ्नु र कठिन समयमा मानवीय सहारा बन्नु पनि हो भन्ने सन्देश दिएको छ। “विपद्मा हामी फोटो खिच्न वा उपस्थिति देखाउन मात्रै आएका होइनौँ।

पीडितले जुन समस्या भोगिरहेका छन्, त्यही समस्या समाधानमा सकेको भूमिका खेल्न आएका हौँ,” अध्यक्ष श्रेष्ठले भने। बाढीपहिरोले घर, परिवार र आफन्त गुमाएकाहरूका लागि राहतको एउटा प्याकेटसँगै एक छाक निःशुल्क खाना र कठिन समयमा कसैले दिएको मानवीय साथ पनि ठूलो भरोसा बन्न सक्छ। नेशनल भोलेन्टियर फोर्सको खाना सेवा शिविर त्यही भरोसाको एउटा उदाहरण बनेको छ।

प्रतिक्रिया