गाैमुल खबर डटकम सोमबार २९, मङि्सर २०८२ ०९:४५

बहुआयामी नेतृत्वको ब्लूप्रिन्ट: यस्तो होस् एमाले केन्द्रीय कमिटी सदस्य

गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर २८, २०८२
बहुआयामी नेतृत्वको ब्लूप्रिन्ट: यस्तो होस् एमाले केन्द्रीय कमिटी सदस्य

धर्मराज तमल्सीना 

नेपालको राजनीतिमा नेकपा एमालेजस्तो ठूलो, संगठनात्मक रूपमा परिपक्व र ऐतिहासिक रूपमा निर्णायक दललाई अगाडि बढाउने मुख्य शक्ति भनेकै यसको केन्द्रीय कमिटी हो । केन्द्रीय कमिटी कुनै साधारण संरचना होइन; यो नै पार्टीको नीति निर्माण केन्द्र, वैचारिक दिशा दिने थिंकट्याङ्क, संगठन सञ्चालन गर्ने निर्णय मञ्च र देशका लागि विकल्प निर्माण गर्ने नेतृत्व कारखाना हो । त्यसैले केन्द्रीय कमिटीमा कस्ता व्यक्तित्वहरू रहन्छन ? भन्ने प्रश्न प्रत्यक्ष रूपमा देश कता जान्छ? र उनिहरूले देशलाइ कता डोर्याउछन ? भन्ने प्रश्नसँग गाँसिएको हुन्छ । आजको परिदृश्य जहाँ भू–राजनीति जटिल छ, अर्थतन्त्र संक्रमणमा छ, समाज डिजिटल युगको बहससँग छ, जनताको अपेक्षा बदलिएको छ, मूल्य मान्यताहरू चुनौतीमा छन् । यस्तो अवस्थामा केन्द्रीय कमिटीमा बन्ने नेता सामान्य होइन, अवश्य पनि असाधारण हुनुपर्छ ।

केन्द्रीय कमिटी सदस्य पदधारी होइनमूल्यधारी‘ बनोस्

नेतृत्वको वास्तविक गौरव पदको चमकमा होइन, चरित्रको उज्यालोमा देखिन्छ । पदले मात्र अधिकार दिन्छ, तर मूल्यले विश्वास, आदर र इतिहासमा स्थान दिन्छ । नेपालले पटक–पटक भोगेको राजनीतिक दुर्घटना र जनआकांक्षाको विफलतामा एउटै साझा तत्व देखिन्छ मूल्यहीन नेतृत्व । जसको मन पार्टीमा, तर चरित्र निजी स्वार्थमा; जसको हस्ताक्षर जनताका लागि, तर निर्णय निजी समूहका लागि । त्यसैले आज एमालेको केन्द्रीय कमिटी सदस्य केवल ‘पदधारी’ भएर पर्याप्त छैन; ऊ नैतिकतामा दृढ, सदाचारमा अटल र चरित्रमा अडिग ‘मूल्यधारी’ नेता हुनैपर्छ । यस्तो नेता जसको निर्णयले पदको दायित्व मात्र पूरा नहोस्, राष्ट्रको भविष्य सुरक्षित गर्ने दूरदृष्टि बोकोस् ।

जनता अब भाषण होइन, व्यवहारको प्रमाण खोज्छन्; वाचा होइन, विश्वासमा टिकेका मानवीय मूल्य खोज्छन् । त्यसैले केन्द्रीय कमिटी सदस्यमा इमान, पारदर्शिता, निष्ठा र नैतिक स्वच्छता कुनै विकल्प होइन, नेतृत्वको आधारभूत पूर्वशर्त हो । मूल्यधारी नेतृत्व मात्र पार्टीलाई उचाइ दिन सक्छ, राष्ट्रलाई सुरक्षित बनाइदिन्छ र भावी पुस्तालाई भरोसा दिलाउँछ कि ‘सही हातमा देश छ भनेर ।

सदाचार र नैतिकता

सदाचार र नैतिकता नेतृत्वको आत्मा हो । एक केन्द्रीय कमिटी सदस्यको मूल्यांकन पदले होइन, उसको व्यक्तिगत जीवनको स्वच्छता र पारदर्शिताले हुनुपर्छ । यस्तो नेता जसको निजी आचरण नै अनुकरणीय होस्, जसको जीवनशैली नैतिकताको पाठशाला जस्तो होस् र जसको प्रत्येक व्यवहारले नेतृत्व जिम्मेवारी होइन धर्म हो भन्ने सन्देश दिओस् । भ्रष्टाचारको छायासम्म नपरेको, अवैध आर्थिक राजनीतिक चलखेलबाट पूर्ण रूपमा मुक्त, जसको हात सफा मात्र होइन, मन पनि सफा होस् ।

नेता यस्तो होस् जसले बोलेको शब्द, गरेको वाचा र देखाएको काम एउटै रेखामा मिलून् । मन, वचन र कर्मको एकत्व भएको नेतृत्व। पार्टी संगठनप्रतिको निष्ठा र राष्ट्रप्रतिको समर्पण एउटै धड्कनमा धड्कियोस्, स्वार्थ होइन, कर्तव्य र सिद्धान्त नेतृत्वको मेरुदण्ड बनोस् । यस्ता मूल्यमा उभिएको नेता मात्र विश्वास जगाउन सक्छ, संस्था बचाउन सक्छ र देशलाई नैतिक राजनैतिक संस्कृति दिन सक्छ ।

वैचारिक स्पष्टता

वैचारिक स्पष्टता नेतृत्वको दिशानिर्देशक कम्पास हो । एमालेको केन्द्रीय कमिटी सदस्य केवल राजनीतिज्ञ भएर पुग्दैन; ऊ वैचारिक रूपमा स्थिर, बौद्धिक रूपमा सक्षम र ऐतिहासिक रूपमा जिम्मेवार पात्र हुनुपर्छ । मार्क्सवाद–लेनिनवादको भौतिकवादी दृष्टिकोण बुझ्ने मात्र होइन, त्यसलाई समसामयिक नेपाली यथार्थसँग सुसम्बद्ध गर्न सक्ने रचनात्मक–क्रान्तिकारी चेतना नेता समक्ष अनिवार्य हुन्छ । समृद्धि–मुखी समाजवादको दीर्घदृष्टि, सामाजिक न्यायको मूल मूल्य, उदार लोकतान्त्रिक प्रतिस्पर्धाको स्वास्थ्यकर अभ्यास र राष्ट्रिय स्वाधीनताको दृढ प्रतिवद्धता यी सबैलाई एकैसाथ बोकेर अघि बढ्न सक्ने क्षमता नेतृत्वको वास्तविक शक्ति हो ।

राष्ट्रको कूटनीति, अर्थनीति, सामाजिक रूपान्तरण र संगठन सञ्चालन यी सबैमा वैचारिक धरातल कमजोर भयो भने निर्णय दिशाहीन हुन्छन् । त्यसैले केन्द्रीय कमिटी सदस्य विचारमा स्पष्ट, तर्कमा सुदृढ र सिद्धान्तमा अटल हुनुपर्छ। यस्तो नेता मात्र पार्टीलाई मार्गदर्शन गर्न सक्छ, जनतालाई आश्वस्त बनाइदिन्छ र राष्ट्रलाई स्थिर वैचारिक आधारमा अघि बढाउन सक्षम हुन्छ ।

भावुकता र तर्कको संयोजन

नेतृत्वको सबभन्दा सूक्ष्म शक्ति भनेको भावुकता र तर्कको सन्तुलित संयोजन हो । एमालेको केन्द्रीय कमिटी सदस्यमा यस्तो संवेदनशीलता होस् कि ऊ बालबालिकादेखि लिएर रोजगारका लागि संघर्षरत नागरिकसम्मका मनोवैज्ञानिक सूक्ष्मताहरू बुझ्न सकोस् । उनको पीडा, असन्तुष्टि, सपना र आकांक्षालाई मनन गर्न सकोस् । तर मात्र भावनाले नेतृत्व चल्दैन; निर्णय तथ्य, डाटा र प्रमाणमा आधारित हुनुपर्छ, न कि क्षणिक भावनात्मक तरंगमा । नेता यस्तो होस् जसको शब्दमा सौम्यता होस्, जो जनताको मन जित्न सकोस् तर नीतिको टेबलमा बस्दा कठोर यथार्थसँग जुधेर देशको हितमा ठोस निर्णय गर्न सक्ने कठोर बौद्धिकता पनि होस् । मनलाई छुने संवेदनशीलता र समस्या समाधान गर्ने विश्लेषणात्मक क्षमता यी दुवै गुणको संगम भएको नेता मात्र विश्वसनीय, प्रभावशाली र दीर्घकालीन हुन्छ ।

सामाजिक आधारसँग जोडिन सक्ने नेता

वास्तविक नेतृत्व जनताबाट टाढा बसेर जन्मिन्न; यो त जनताको घर–आँगनमा पग्लिएको विश्वासबाट तयार हुन्छ । फेसबुकका लाइक र टिकटकका भिडियोले सिर्जना गरेको सतही छवि नेतृत्वको स्थायित्व होइन; स्थायित्व त जनताको पीडा सुन्न सक्ने कान, आशा बुझ्न सक्ने मन र व्यवहारमा देखिने आत्मीयता हो । एमालेको केन्द्रीय कमिटी सदस्य यस्तो होस्, जसले आफ्नो भूगोलसँग केवल राजनीतिक हिसाब–किताबले होइन, भावनात्मक र मानवीय सम्बन्धले बाँधिएको महसुस गराओस् । स्थानीय समुदायका संरचनागत समस्या, सामाजिक असमानता, वर्ग, जाति, लिंग, पेशा, जीवनस्तरका भिन्नता यी सबैलाई हृदयदेखि बुझ्न सक्ने क्षमता नेतृत्वको सामाजिक मेरुदण्ड हो । राजनीति केवल भाषणमै सीमित हुँदैन; यहा नेता जनताको भाषा बोल्न, उनीहरूको दुःख सुन्न, र उनीहरूको सपनामा सहभागी हुनुपर्छ । जनताले स्वीकृत गरेको नेतृत्व मात्र जनताको हृदयमा बस्छ र यही नेतृत्व दीर्घकालीन, स्थिर र प्रभावकारी हुन्छ । जनताको ढोकामा पुग्न सक्ने, उनीहरूको भरोसा जित्न सक्ने र उनीहरूको भविष्य सुरक्षित गर्ने संकल्प भएको नेता नै एमालेको केन्द्रीय कमिटीमा बस्न योग्य हुन्छ ।

डिजिटल युग र एआई युगसँग तालमेल राख्न सक्ने आधुनिक नेता

२१औँ शताब्दीको राजनीति अब कागज़का फाइलमा होइन डाटा, एल्गोरिदम र डिजिटल प्रवाहमा सञ्चालन हुन्छ । त्यसैले आधुनिक नेता केवल राजनीतिक अनुभवले मात्र सक्षम हुँदैन; ऊ डिजिटल साक्षर, प्रविधि–अनुकूल र एआई युगसँग तालमेल राख्न सक्ने “नयाँ पुस्ताको नेता” हुनुपर्छ । एमालेको केन्द्रीय कमिटी सदस्य आज यस्तो हुनुपर्छ जसले एआईले रोजगार, उद्योग, शासन र दैनिक जीवनमा ल्याएको संरचनागत परिवर्तन बुझोस्, साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटलीकरणको जटिलता सम्यक् रूपमा बुझोस् र ई–गभर्नेन्स, डिजिटल पारदर्शिता र स्मार्ट प्रशासन लागू गर्न सक्षम होस् । प्रविधिले जन्माएको नयाँ युवा संस्कृतिको मनोविज्ञान बुझ्न, डिजिटल अभियान सञ्चालन गर्न, ब्लकचेन प्रशासन वा अनलाइन पेमेन्ट प्रणालीका प्रभाव पहिचान गर्न र समाजमा फैलिने फेकन्यूज, डिजिटल भ्रम तथा मनोवैज्ञानिक युद्धको वास्तविक खतरा चिन्न सक्नुपर्ने आजको नेतृत्वको अपरिहार्य आवश्यकता हो । प्रविधिको भाषा नबुझ्ने नेता आज अन्धो हुन्छ र अन्धो नेतृत्वले राष्ट्रको भविष्य उज्यालो बनाउन सक्दैन । त्यसैले एमालेको केन्द्रीय कमिटी एनालग राजनीतिज्ञको मञ्च होइन, डिजिटल राजनीतिज्ञको कार्यशाला हुनुपर्छ, जहाँ भविष्य निर्माण गर्ने नेताहरू तयार हुन्छन् ।

नीतिगत क्षमता 

देश केवल राजनीतिक नाराले समृद्ध हुँदैन । स्पष्ट दृष्टि, ठोस नीति र तथ्यमा उभिएको नेतृत्वले मात्र राष्ट्र रूपान्तरित हुन्छ । त्यसैले एमालेको केन्द्रीय कमिटी सदस्य जनसम्पर्कको पात्र मात्र होइन । राष्ट्रको नीति निर्माण गर्ने दिमाग  र भविष्य लेख्ने इञ्जिन  हुनुपर्छ । यस्तो नेता होस् जसले आर्थिक पुनरुत्थानका सूचक पढ्न सकोस्, स्टार्टअप र नवप्रवर्तनमैत्री वातावरण बनाउन सक्ने आर्थिक कल्पनाशीलता बोकोस्, सार्वजनिक खर्च मितव्ययी बनाउन आवश्यक कडाइ र कर प्रणालीलाई न्यायोचित बनाउने बौद्धिकता राखोस् । नेता जसले भूमिसुधार र कृषि रूपान्तरणको बाटो देखाओस्, ग्रामीण अर्थतन्त्र पुनर्जीवनको कार्यदिशा बनाओस्, सहकारी सुधारका विकल्प पेश गर्न सकोस् किनकि देशको मेरुदण्ड ग्रामीण जीवन नै हो । सामाजिक न्यायका हिसाबले नेता दलित, महिला, आदिवासी जनजाति, अपांगता भएका नागरिक तथा विपन्न वर्गका हक अधिकारप्रति संवेदनशील मात्र होइन नीतिगत स्तरमा समाधान निर्माण गर्न सक्षम होस् । सुशासन, जवाफदेहित र विधिको शासन सुनिश्चित गर्न नेता भ्रष्टाचार, सिण्डिकेट र कमिशन संस्कृतिका विरुद्ध निडर उभिन सक्ने चरित्र बोकोस् ।

यसैगरी आजको बहुध्रुवीय विश्वमा परराष्ट्र नीति केवल सौहार्दको अभ्यास होइन रणनीतिक बुद्धिमत्ता हो । नेपालजस्तो संवेदनशील भू–राजनीतिमा पार्टीका शीर्ष नेताले चीन–भारत–अमेरिका–इयु–खाडी–आसियान सबैसँग सन्तुलन, सम्मान र समानताको सम्बन्ध बनाउने कूटनीतिक परिष्कार बोकेर अघि बढ्नैपर्छ । शान्ति–सुरक्षामा नेता सुरक्षा संयन्त्रको आधुनिकीकरण, सामुदायिक शान्ति निर्माण, मनोवैज्ञानिक युद्धको पहिचान र सामाजिक अराजकता रोक्ने क्षमतामा पारंगत हुनुपर्छ । यसबाहेक शिक्षा, स्वास्थ्य र रोजगार नीतिमा गहिरो समझ नहुने नेता अधुरो हुन्छ । किनकि राष्ट्रका बालबालिका कस्तो शिक्षा पाउँछन्, नागरिक कति सुरक्षित छन्, युवालाई कति रोजगार अवसर छ र बेरोजगारी कति घट्छ यहीँबाट देशको भविष्य तय हुन्छ । त्यसैले नेता यस्तो होस् जसले शिक्षा समान, गुणस्तरीय र प्राविधिक बनाउन सक्ने दृष्टि बोकोस्; स्वास्थ्यलाई सर्वसुलभ, सहज र डिजिटल बनाउने कार्यक्रम निर्माण गर्न सकोस्; युवालाई स्वाभिमानी बनाउने रोजगार नीतिको नक्सा बनाउन सकोस् र बेरोजगारी घटाउने राष्ट्रिय रणनीति बनाउन सकोस् । यस्ता बहुआयामी नीतिगत क्षमताले सुसज्जित नेता मात्र राष्ट्रको मुटु धड्काउने प्रणालीलाई पुनर्जीवित गर्न सक्छ, जनताको विश्वास जगाउन सक्छ र देशलाई समुन्नत भविष्यतिर डोर्याउन सक्षम हुन्छ ।

मानिस जित्ने होइनमन जित्ने नेता 

राजनीति केवल शक्ति र पदको खेल होइन, यो मानिसको मनोविज्ञान बुझ्ने कला पनि हो । एमालेको केन्द्रीय कमिटी सदस्य त्यस्तो नेता हुनुपर्छ जसले समुदायमा उत्पन्न भावनात्मक भूकम्प पहिचान गर्न सकोस् कहाँ क्रोध छ, कहाँ पीडा छ, कहाँ हताशा छ । नेता यस्तो होस् जसले व्यक्तिहरूका मनोवैज्ञानिक तहहरू पढ्न सक्ने क्षमता राखोस् र केवल प्रतिक्रिया दिने होइन, पूर्वदृष्टि राखेर समस्या समाधानको बाटो देखाओस् । आक्रोशित युवालाई दबाउने होइन, अवसर र मार्गदर्शन प्रदान गर्ने, असन्तुष्ट वर्गसँग संवादमार्फत समाधान निकाल्ने सामाजिक बुद्धिमत्ता राखोस् । नेतृत्वमा दृढता र साहस र सादगी तथा सम्यता दुवै गुण मिश्रित हुनुपर्छ । जहाँ कठोर निर्णय र संवेदनशील व्यवहार सँगसँगै चल्छन् । यस्तो नेता केवल कागजी पदको प्रतिनिधि होइन, ऊ मानव केन्द्रित, संवेदनशील, समुदायको मनोविज्ञान बुझ्ने र व्यवहारमा प्रतिबिम्बित गर्न सक्ने नेतृत्वकर्ता हुनुपर्छ, जसको उपस्थिति मात्रले जनताको विश्वास र आशा जगाउन सकोस् ।

संगठन क्षमता

संगठन नेतृत्वको हृदय हो र त्यसलाई चलाउन सक्षम नेताले सक्छ । एमाले एउटा क्याडर–आधारित वैज्ञानिक संगठन भएकाले केन्द्रीय कमिटी सदस्य त्यस्तो हुनुपर्छ जसले संगठनसँग आत्मीयता र घुलमिल कायम राखोस् । अनुशासन पालन केवल नियमको पालना होइन यो संगठनको विश्वास र स्थायित्वको आधार हो । नेता सामूहिक नेतृत्वको परम्परा कायम राख्न सक्ने, व्यक्तिगत स्वार्थ र गुटबन्दीबाट मुक्त र सधैं पार्टीको ठूलो हित पहिला राख्ने पात्र हुनुपर्छ । यस्तो नेता आफ्नो भन्दा सक्षम कार्यकर्तालाई अघि बढाउन हिच्किचाउँदैन, आफ्नो योगदानभन्दा ठूलो श्रेय अरूलाई दिन सक्ने उदार मानसिकता बोकोस् । असहमति सुन्न, छलफल गर्न र सुधारतर्फ जुट्न सक्ने परिपक्वता उसमा स्पष्ट देखियोस् । नेतृत्व केवल आदेश दिने होइन; सहयोग, मार्गदर्शन र समर्पणको माध्यमबाट सामूहिक शक्ति निर्माण गर्ने कला हो । यस्तो संगठन कुशल नेतृत्वले मात्रै पार्टीलाई बलियो, निर्णयलाई प्रभावकारी र राष्ट्रलाई स्थिर बनाउने क्षमता राख्छ ।

सदाचारचरित्र र जीवन–शैली 

सदाचार र चरित्र नेतृत्वको आत्मा हुन् र जीवनशैली नै नेताको व्यक्तित्वको प्रतिविम्ब । नेपालमा राजनीति बारम्बार भ्रष्टाचार, परिवारवाद, सिण्डिकेट र व्यक्तिगत स्वार्थको कलङ्कसँग जोडिएको छ । यसै कारण एमालेको केन्द्रीय कमिटी सदस्य त्यस्तो हुनुपर्छ जसको जीवनशैली सरल, पारदर्शी र अविरोध्य होस् । जसले सार्वजनिक सम्पत्तिलाई आफ्नो स्वार्थका लागि प्रयोग नगरी पूर्ण रूपमा सम्मान गर्न सकोस् । नेता यस्तो होस् जसले राजनीतिक पहुँच र व्यवसायलाई अलग राख्ने आदर्श कायम राखोस् र पार्टीलाई नैतिकता र सत्यताको उदाहरण दिन सक्ने चरित्र बोकोस् । नेताको घर, व्यवहार र आचरण नै जनताका लागि भविष्यको संकेत हुन् । यदि नेता स्वयं सरल, अनुशासित र नैतिक छ भने जनता विश्वास गर्छन् कि राष्ट्र पनि सत्य, न्यायोचित र स्थिर मार्गमा अगाडि बढ्नेछ । यही विश्वासले मात्र पार्टीको प्रतिष्ठा र राष्ट्रको भविष्य सुरक्षित रहन्छ ।

त्यसैले केवल पदमा बसेर होइन चरित्र, आचरण र जीवनशैलीमा असल नेतृत्व देखाउन सक्ने नेता मात्र केन्द्रीय कमिटीको योग्य हुन्छ । साँचो नेता केवल नारा लगाउने पात्र होइन; ऊ गहिरो विश्लेषक, संवेदनशील श्रोता, निडर निर्णयकर्ता र भविष्य निर्माणकर्ता हुनुपर्छ । एमालेको केन्द्रीय कमिटी सदस्य त्यस्तो हुनुपर्छ जसले तथ्य–आधारित विश्लेषणमा निर्भर भएर निर्णय गर्छ, डाटा, प्रवृत्ति, संरचना, समाजशास्त्र, मनोविज्ञान र भू–राजनीतिक परिप्रेक्ष्य सम्यक् रूपमा बुझ्छ । नेता भाषणमा उर्जा र स्पष्टता बोकेर जनतालाई प्रभाव पार्छ, लेखनमा बौद्धिक सटीकता देखाउँछ र विचारमा बलियोपन कायम राख्छ । जटिल समस्यालाई सरल तर प्रभावकारी समाधानमा रूपान्तरण गर्ने क्षमता उसमा स्पष्ट देखिनुपर्छ । भावुकता, बौद्धिकता र तार्किक विश्लेषणको संयोजन भएका नेता मात्र पार्टीलाई सुदृढ बनाउन, राष्ट्रलाई दीगो दिशा दिन र भविष्यतर्फ प्रेरित नेतृत्व प्रदान गर्न सक्षम हुन्छ ।

युगअनुकूलपरिष्कृतव्यावहारिक राष्ट्रिय नेता 

नेतृत्व केवल आन्तरिक राजनीतिक चालमा सीमित हुँदैन, यसले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै अन्तर्राष्ट्रिय समुदायसँग सभ्य, व्यावहारिक र कूटनीतिक सम्बन्ध निर्माण गर्न सक्नुपर्छ । एमालेको केन्द्रीय कमिटी सदस्य त्यस्तो नेता होस् जसले नेपाललाई विश्वमा विश्वसनीय, स्थिर र सम्भावनायुक्त राष्ट्रका रूपमा उभ्याउने क्षमता राखोस् । ऊ विदेश नीति, वैदेशिक रोजगारी, लगानी, प्रवासी समुदायको भूमिका र अन्तर्राष्ट्रिय अर्थतन्त्रको जटिलता बुझ्ने र ती सबैलाई राष्ट्रिय हितसँग सन्तुलन मिलाएर निर्णय गर्ने परिष्कृत दृष्टि बोकोस् । यस्ता नेता मात्र राष्ट्रको सुरक्षा, आर्थिक समृद्धि र सामाजिक स्थायित्व सुनिश्चित गर्न सक्छन् । राष्ट्रियता र अन्तर्राष्ट्रिय समझको सन्तुलनले नेतृत्वलाई युगअनुकूल, व्यावहारिक र दीगो बनाउँछ, जसले पार्टी र देश दुवैको भविष्य उज्यालो बनाउने आधार तयार पार्छ ।

केन्द्रीय कमिटी सदस्य देशको भविष्य निर्देशक

नेतृत्व केवल पदमा बस्ने अधिकार होइन, यो राष्ट्रको भविष्य तय गर्ने क्षमता हो । नेपाल संवैधानिक समाजवाद, आर्थिक रूपान्तरण, संरचनागत सुधार, प्रविधि–क्रान्ति र सामाजिक न्यायतिर उन्मुख राष्ट्र हो । यस्ता चुनौतीपूर्ण परिवेशमा यदि केन्द्रीय कमिटी सदस्य स्वच्छ, आधुनिक, बौद्धिक, लोकप्रिय र बहुआयामी नेतृत्व बोकेका नभए, देश फेरि–फेरि राजनीतिक, आर्थिक र सामाजिक अन्धकारमा फस्न सक्छ । एमालेलाई पुनः वैचारिक, संगठनात्मक र राजनीतिक अग्रभागमा ल्याउन, यस्तो नेता आवश्यक छ जो केवल पदमा ठूलो नभएर पात्रतामा पनि ठूलो होस् । जो नीति निर्माणमा सूझबुझ, संगठन सञ्चालनमा दक्षता, जनसम्पर्कमा संवेदनशीलता र राष्ट्रप्रति निष्ठा देखाउन सकून् । यस्तो नेता मात्र पार्टीलाई बलियो बनाउने, देशलाई स्थिर बनाउने र भविष्यका पुस्ताको लागि आशाको स्रोत बन्न सक्छ ।

निष्कर्ष

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य अब परम्परागत राजनीतिज्ञ भएर बस्नुहुँदैन । आजको युगको चुनौती र अवसरलाई मध्यनजर गर्दा, त्यो नेता सदाचारले शुद्ध, वैचारिक रूपमा गहिरो, सामाजिक रूपमा लोकप्रिय, डिजिटल र एआई युगसँग तालमेल राख्ने, अर्थ, कूटनीति, सुरक्षामा दक्ष, मनोवैज्ञानिक रूपमा परिपक्व र अन्तर्राष्ट्रिय रूपमा परिष्कृत हुनुपर्छ । यस्तो नेता मात्र जनताको मन जित्न, राष्ट्रको हित जोगाउन र भविष्यको मार्गनिर्देशन गर्न सक्षम हुन्छ जसले मेरो नेता असल होस् भन्ने जनताको अपेक्षा पूर्ण रूपमा पूरा गर्न सक्छ । नेता त्यस्तो बनोस् कि पार्टीले उसमा गर्व गरोस्, देशले उसमा विश्वास गरोस् र भविष्यले उसमा आशा देखोस् । यही बहुआयामी क्षमता, दृष्टि र पात्रता नै एमाले केन्द्रीय कमिटी सदस्यको ब्लूप्रिन्ट हो । नेतृत्वको यस्तो संरचना, जसले पार्टीलाई पुनः वैचारिक, संगठनात्मक र राजनीतिक अग्रभागमा उभ्याउँछ र राष्ट्रको दीगो भविष्य सुनिश्चित गर्छ ।

प्रतिक्रिया