कञ्चनपुरका विपिन जोशीलाई इजरायलबाट हमासले बन्धक बनाएर राखेको करिब २ वर्ष बितिसकेको छ । सन् २०२३ को अक्टोबर ७ तारिख, त्यो कालो दिन बनेर जोशी परिवारमा मात्रै आएन, नेपाल र नेपालीलाई पनि घाइते बनायो । कृषि तालिमका लागि इजरायल पुगेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको क्रूरतापूर्वक हत्या भएको थियो त्यस दिन ।
अनि, विपिन जोशीलाई हमासले अपहरण ग¥यो । युद्धको त्यो विभीषिकाबीचबाट अमेरिका, फ्रान्स, थाइल्यान्ड जस्ता देशहरूले आफ्ना नागरिकलाई कूटनीतिक कौशल र दबाब प्रयोग गरेर फिर्ता लगे । तर, विपिनको नाम प्रतीक्षाको सूचीमा अड्किरह्यो । इजरायल र प्यालेस्टिनीहरूको युद्ध झन् जटिल बन्यो र विपिनको अवस्था अन्योलग्रस्त पनि ।
यसबीच नेपालले खास कूटनीतिक पहल गर्न नसक्दाकै परिणाम आजसम्म पनि उनको अवस्था अज्ञात बनेको छ । विपिनको रिहाइका लागि उनकी बहिनी पुष्पामा र आमा पद्मा इजरायल पुगेका छन् । संयुक्त राष्ट्रसंघसम्म पुगेर उनीहरू विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिरहेका छन् ।
पुष्पा जोशीले दाजुको जीवन रक्षाका लागि पराइ भूमि इजरायल पुगेर त्यहाँका राष्ट्रपतिमात्रै भेटिनन्, सार्वजनिक मञ्चमा उभिएर आह्वानसमेत गरिन् । उनको निकै भावुक अपिलले नेपालीहरूको मन त भक्कानिएकै छ, तर हमासले त्यो चित्कारलाई सुनिदिएमात्रै सुखद परिणाम निस्कन सक्थ्यो ।
तेल अभिब सहरको ‘होस्टेज स्क्वायर’मा पुष्पाले ‘दादा... आई मिस यु सो मच,’ भनिरहँदा र आँसु झार्दा त्यसले एउटा पारिवारिक सदस्यको पीडामात्रै छचल्किएन देश पनि दुख्यो । त्यसबेला झरेका आँसु र पीडादायी उनको अनुहार देखेर विश्व पनि तड्पिएको छ ।
पुष्पा र पद्मासँगको भेटपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले विपिनको तस्बिर छातीमा टाँसेर दिएको आश्वासनले केही आशा जगाएको छ । तर, नेपालले पनि कूटनीतिक पहल भने जारी राख्नु नै पर्छ । बन्धक बनाइएका नागरिकको रिहाइका लागि जुन स्तरको रणनीतिक र आक्रामक कूटनीतिक पहल हुनुपर्थ्यो, त्यसमा हामी सफल देखिएका छैनौं ।
नेपालले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई मात्र उपयोग गरेर पुग्दैन, किनभने ऊ आफै हमाससँग लडिरहेको पक्ष हो, हामीले हमाससँग वार्ताको ढोका खोल्न सक्नुपर्छ । त्यसका लागि हमाससँग निकट कतार, इजिप्ट र टर्कीजस्ता मुलुकहरूसँग पहल गर्नुपर्छ ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग संवाद गरी त्यो पहल थालेका छन् । त्यसबाट परिणाम निस्यिोस् भन्ने सबै नेपालीको अपेक्षा हो । विपिनको घरफिर्ती प्रतीक्षा राष्ट्रिय प्रतीक्षा हो ।
नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस जस्ता संस्थामार्फत हमासमाथि दबाब बढाउनु आवश्यक छ । नेपाल-इजरायल सम्बन्धलाई मजबुत बनाउँदै बन्धक रिहाइलाई द्विपक्षीय एजेन्डा बनाउनुपर्छ ।
इजरायलमा ६ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसको सुरक्षाका लागि नेपालले ठोस नीति बनाउनुपर्छ । विपिनको घटनाले नेपाललाई अन्तर्राष्ट्रिय संकटमा आफ्ना नागरिकहरूको रक्षाका लागि तयार रहन सिकाएको छ । अन्नपूर्ण पोस्टको सम्पादकीयबाट साभार
प्रतिक्रिया