गाैमुल खबर डटकम बुधबार ०४, भदौ २०८२ ०६:१५

जगत जननी बडीमालिकाको पूजाका अवसर सार्वजनिक विदा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन १९, २०८२
जगत जननी बडीमालिकाको पूजाका अवसर सार्वजनिक विदा

बाजुरा ः बडीमालिका नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ । जगत जननी तथा भू-स्वर्ग बडीमालिका माताको पूजा आरधनाका अवसरमा सार्वजनिक विदा दिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

देशकै प्रमुख धार्मिक तथा पर्यटकीय शक्तिपीठमा लाग्ने पूजाका अवसरमा नगरक्षेत्रका सबै सार्वजनिक संस्थाहरुमा विदा दिने नगर सरकारले निर्णय गरेको नगर प्रमुख खड्काले गौमुल खबर डटकमसंग बताएका छन् । 

धर्तीको स्वर्ग अर्थात् भू-स्वर्ग । सुदूरमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार । जो अलौकिक छ । अद्भूत छ । अकल्पनीय छ । मनमोहक अनि बेजोड छ बडीमालिका । समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइ । आँखाका नजरहरूले नभ्याउने विशाल क्षेत्रफल ।

प्रकृतिको हरित कुचीले रङ्गिएका फराकिला फाँटहरू । सात महिना हिँउ फुल्ने, चार मास कुहिरोले लुकामारी गर्ने जो कोहीलाई पुग्न कष्टसाध्य बडीमालिका । बडीमालिका जति प्राकृतिक सुन्दरताले सुरम्य छ त्यति नै धार्मिक आस्थासँग जोडिएको छ ।

आस्था र जीवनलाई आफूसँगै राखेको छ बडीमालिकाले । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिका भ्रमण तथा अवलोकन गर्न वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

बडीमालिकाको कायाकल्पको प्रयास

पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बडीमालिकामा २२ वटा समथर हरिया पाटन छन् । मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन् । चार हजार दुई सय मिटर उचाइको यात्रापछि आइपुग्छ बडीमालिका ।

धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले चर्चित गन्तव्य, विगत भन्दा फेरिँदै गएको छ । सदियौँपछि मन्दिर संरचना नयाँ बनेका छन् । पुरातात्विक महिमा र विशेषता झल्काउन कलात्मक शैलीमा कुँदिएको छ । नेपाली सेनाले करिब २ करोड बढी आन्तरिक स्रोत प्रयोग गरेर निर्माण गरेको हो ।

आस्थाको भर बडीमालिका मन्दिर निर्माण हुदैं

मन्दिर संरचना जति कलात्मक छ, त्यसमा प्रयोग गरिएका निर्माण सामग्री पनि उत्तिकै महत्वका साथ छनोट गरिएको देखिन्छ । मन्दिर निर्माणमा सिमेन्ट र फलामको प्रयोग गरिएको छैन । सिमेन्टका सट्टा काठमाडौँबाटै झिकाइएको चुना र सुर्की प्रयोग गरिएको छ ।

मन्दिरको डिजाइनअनुसार धनगढीमा तयार गरेर ल्याइएको सालको काठ प्रयोग भएको छ । स्थानीय क्षेत्रमै सङ्कलन गरिएको पत्थरको प्रयोग गरिएको छ । काठमाडौंबाटै तयार गरिएको छाना पित्तलको छ । बडीमालिकाका पुजारी नेत्रराज पाध्याका अनुसार ०५० सालदेखि मन्दिर पुनः निर्माणका लागि पहल हुँदै आएको थियो ।

हाल प्रधानसेनापति अशोकराज सिग्देलको अगुवाइमा निर्माण कार्य सम्पन्न गरिएको उनको भनाइ छ । सेनाले कलात्मक मन्दिर निर्माण गर्नु पालिकाको मात्रै नभइ देशकै लागि गौरव भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा बताउँछन् । त्रिवेणीले आफ्नो समृद्धिको प्रमुख आधार नै बडीमालिका क्षेत्रको पर्यटन विकासलाई लिने गरेको छ ।

यो पटक बडीमालिका यात्रामा जानेका लागि नयाँ अनुभव, अवलोकन र विशेष रहनेछ । बडीमालिका पुग्नेहरूले भुटानको राजदरबार निर्माणमा संलग्न अनुभवी कालिगढले निर्माण गरेको पुरातात्विक मन्दिरहरूको दर्शन र अवलोकन गर्न पाउने छन् । उनीहरूसँगै भारतको लद्दाखमा काम गर्दैआएका कालीगढले मन्दिर निर्माण गरेका छन् ।

यो वर्षको साउन २३ गते पूजा लाग्नेछ । हरेक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन बडीमालिकामा पूजा लाग्ने गरेको छ । जहाँ हजारौं भक्तजन बडीमालिकालाई वरदानको खानी र मनोवाञ्छित फल प्राप्त गर्ने आस्थाको धरोहरका रूपमा पुज्ने गर्दछन् । कलात्मक देवी भगवतीको मन्दिर र यज्ञशालाको पुनः निर्माण भएको छ ।

‘त्यो केवल एउटा भौतिक संरचना मात्रै होइन, अनेकन दृष्टिले महत्वपूर्ण र दुर्लभ अनि अलौकिक छ ।’ स्थानीयहरू भन्छन् । देवीका शक्तिपीठमध्ये बडिमालिकामा निर्माण गरिएको मन्दिर विश्वमै सबैभन्दा उच्च स्थानको कलात्मक मन्दिर हो ।चार हजार दुई सय मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको नेपाली सेनाको प्रारम्भिक अध्ययन छ ।

बडीमालिकाको इतिहास र महिमा

मन्दिर आदिमकालमा स्थापना भएको हो । स्कन्दपुराणको मानसखण्डमा उल्लेख भएअनुसार सत्यदेवीले आफ्ना पिता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले । यसरी ठाउँठाउँमा सत्यदेवीका अङ्ग पतन हुँदै, झर्दै खस्न थाले ।

सत्यदेवीका अङ्ग जहाँजहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भए । त्यसै क्रममा बाजुराको मल्लागिरी पर्वत (बडीमालिका) मा उनको बायाँ कुम पतन भयो । त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनश्रुति छ ।

बडीमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापाका अनुसार बडीमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेका थिए । त्यसपछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापनी भन्ने ठाउँबाट ढुङ्गा बोकाएर बडीमालिकामा मन्दिर निर्माण गराएका थिए ।

शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि ०३६–०३७ तिर तत्कालीन जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।

आदिमकाल देखिकै धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडिमालिकामा अनेकन छँटाहरू, सुगन्धित बगैँचा, विशाल पाटन (फाँट) हरू र जैविक विविधताको खजानाका रूपमा रहेको छ । बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ ।

उसो त बडीमालिका नेपाली सेनाको इष्टदेवी हुन् । बडीमालिकाका अध्येता जहरसिंह थापाका अनुसार अमरसिंह थापाकै समयदेखि बडीमालिकासँग नेपाली सेनाको साइनो सम्बन्ध जोडिएको थियो । पुजारी नेत्रराज पाध्यायका अनुसार ०३२ सालसम्म नेपाली सेनाले पनि श्रावण शुक्ल चतुर्दशीकै दिन पूजाआजा गर्ने परम्परा थियो ।

तर त्यस दिन सर्वसाधारणले समेत पूजाआजा गर्ने भएकाले ०३२ सालपछि खप्तड स्वामीको सुझावमा सेना र तत्कालीन राजाले जेष्ठ शुक्ल पक्षको अष्टमी तिथिमा पूजाआजा गर्ने परम्परा सुरु भएको हो । त्यस बेला सकभर राजा, खप्तड स्वमी र प्रधानसेनापति पूजाआजाका लागि आफैं बडीमालिका पुग्थे ।

तर राजा वीरेन्द्रको हत्यापछि भने राजा र राष्ट्राध्यक्षले पूजा गर्ने प्रचलन टुटेको थियो । तर सेनाले पूजा गर्ने परम्परा भने कायम राखेको छ । पुजारी पाध्याका अनुसार हरेक वर्ष सेनापतिको प्रतिनिधित्व गर्दै विगतमा दीपायलबाट बाहिनीपति र अहिले पृतनापति पूजामा पुग्छन् ।

बडीमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढ लगायतका ठाउँबाट पनि तीर्थयात्री आउने गरेका छन् ।

बडीमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ । जुम्ला जिल्ला प्रशासन कार्यालयबाट चन्दननाथको डोली सहित सरकारी टोली नागपञ्चमीका दिन बडीमालिकातर्फ प्रस्थान गर्ने परम्परा अहिले पनि छ । डोटीबाट अमरसिंह थापाकै पालादेखि बडीमालिकामा ‘डोली’ पठाउने चलन थियो ।

सरकारी पूजा सामग्रीलाई डोली भन्ने चलन छ । शिलगढीबाट १५ दिनमा बडीमालिका पुग्ने प्रचलन रहिएकाले श्रावण प्रतिपदाका दिन सदरमुकाम शिलगढीबाट पूजा टोली बडीमालिका प्रस्थान गर्ने गरेको छ ।

यस वर्षका लागि डोटीको सदरमुकाम शिलगढीबाट शुक्रबार बडीमालिका मन्दिरका लागि सरकारी डोली हिँडिसकेको छ । डोटीको डोलीमा दीपायलको भुरुडी, (धानको पात) र अछामको वैद्यनाथको अक्षता समावेश गर्ने प्रचलन छ । पूजाको पनि विधि र परम्परा छ ।

‘सुरुमा डोटीबाट आएको डोलीसँगै गोरखनाथको पेटारो चढाइन्छ । त्यस क्रममा जुम्लाबाट आएको चन्दननाथको पेटारो पूजाको चढाउने पराम्परा छ । तीन दिनअघि नै बडीमालिकाका पुजारीले लिने आशागुर्जा (चाँदीका पूजा भाँडा) र कालिकोटका ब्राम्ह्रणहरूले लिने छत्रको पूजा गर्ने चलन छ ।

त्यसपछि पूजा जल लिएर पुजारीहरू बडीमालिका मन्दिरतर्फ प्रस्थान गर्छन् । धार्मिक आस्था र प्राकृतिक सुन्दरताले नै बडीमालिका बहुत सुन्दर र सबैको रोजाइको गन्तव्य बनिरहेको छ । मन्दिरमा प्राचीन कालदेखि नै मेला लाग्ने र पूजाआजा हुँदै आएको छ ।

बडीमालिका मन्दिरका पुजारी नेत्रराज पाध्यायका अनुसार आफ्नो परिवारका १४ पुस्ता अघिदेखि पूजा भइरहेको अभिलेख छ । वि. सं १८८३ मा राजा रणबहादुर शाहद्वारा बडीमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा लालमोहर लगाएर प्रमाणित गरेको पुजारी परिवारको भनाई रहेको छ ।

राजा रणबहादुर शाह स्वयंले पनि बडीमालिकाको दर्शन गरेको भन्ने भनाइ छ । नेपाल एकीकरणको बाँकी काम पूरा गर्न बहादुर शाह स्वयम् बडीमालिका पुगेर माताको दर्शन गरेर आर्शीवाद सहित फर्किएको पुजारी खलक बताउँछन् । बडीमालिका क्षेत्रमा दुर्लभ जडीबुटीका त फाँटैफाँट छन्, डाँफे मुनाल, अनेकौँ प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ ।

बहुमूल्य जडीबुटी कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भूतकेश, बायोजडी, पाँचऔंले लगायत ४५ बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । क्यान्सरको औषधिमा प्रयोग हुने ‘ट्यास्सोल’ उत्पादन हुने लौठ सल्ला, गोब्रे सल्लालगायतका वनस्पति पनि बडीमालिका क्षेत्रमा प्रशस्तै छन् ।

सरकारी प्राथमिकता बाहिर बडीमालिका

प्रकृतिले दिएको यति विराट र दुर्लभ उपहारका रूपमा रहेको बडीमालिका सरकारको भने प्राथमिकतामा कहिल्यै परेन । नेपाल सरकार वा प्रदेश सरकार कसैले पनि बडीमालिकाको दिगो विकासका लागि ठोस काम गरेका छैनन् । सरकारले ०६८-६९ कै बजेट वक्तव्यमा बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने उल्लेख गरेको पनि थियो ।

तर कार्यान्वयन गरेन । जति बेला तत्कालीन सरकारको प्रधानमन्त्री माधवकुमार नेपाल थिए । छाडा चरिचरन, मनमर्जी सडक निर्माण, जडीबुटी र वन्यजन्तुको चोरीतस्करीले बडिमालिकाको जैविक विविधता नासिँदै गएको छ ।

बडीमालिका संरक्षणको सवालमा स्वयम् पुजारीहरूकै पहल पनि मन्दिर बनाउन, भक्तजन बढाएर भेटी लिने बाहेक नदेखिएको आरोपसमेत सर्वत्र छ । बडीमालिकाको हिसाब-किताब समेत हरेक वर्ष खोजीको विषय बने पनि छानबीनको प्रक्रिया नै टुङ्गोमा नपुगेर सेलाउने गरेको पाइन्छ ।

May be an image of text

प्रतिक्रिया