बाजुरा ः जहाँ केरा खेती नभएको कुनै घर छैन् । सबै घरका आँगनहरु केराका बोटले भरिएका छन् । घरको आगँन होस् की वारीको पाटा त्यहाँपनि केराकै बोटहरु भेटिन्छन् । त्यो गाउँ हो, बाजुराको बडीमालिका ६ कोर्ध । कोर्ध पालिकाकै सिंगो एक वडा हो । जहाँ ४ सय ७७ बढी परिवारको बसोबास छ ।
बोट संख्यामा कमबढी मात्रै हो, सबैजसो परिवारसँग केरा छन् । विक्री गर्न नभएपनि खानका लागि बाहिर किन्नु पर्ने अवस्था कुनैपरिवारसँग छैन् ।
गाउँको माटो र हावापानी नै केरा खेतीमैत्री देखिन्छ । तर स्थानीयले व्यवसायीक रुपमा भने खेती गरेका छैनन् । न त केरा उत्पादनमा कुनै मेहनत नै गरेको देखिन्छ । तरपनि घरखर्चका लागि उनीहरुको प्रमुख आम्दानी नै केराखेती हो । एक परिवारले मासिक ५ सय देखि ३ हजारसम्म केरा विक्री गरेरै कमाउने गरेका छन् ।
कोर्धबासीको आम्दानीको प्रमुख श्रोत नै केरा खेती हो । व्यवसायीक रुपमा कसैले लगाएको छैन् । मेहनत पनि कोही गर्दैनन्, तर प्रत्येक परिवारसँग केरा छन्, र उनीहरु विक्री गरेर घर खर्चमा प्रयोग गर्छन्, पूर्व बडीमालिकामा नगर प्रमुख पदम बडुवालले बताए । बडुवाल कोर्धका स्थानीय पनि हुन् ।
बडुवालका अनुसार ‘केरा खान कोर्ध दानीवाडा जानु’ भन्ने पुरानै उखानै रहेको बताउँछन् । बडुवाल आफूले पनि भैसी पालन, आलु र केरा खेती थालेका छन् । उनको सुझाव नै सबैलाई केरा खेतीमै लाग्न र राम्रो आम्दानीमा जोडिन छ ।
कोर्ध गाउँमा कोर्धमा दानीबाडा, ऐराडा, साउँदवाडा, पिसीया, खड्काबडा, गैरीबजार, चौराडाँडा, काफलडाँडा, ठुलाघर, खाली, बाँगेकोट र फणिल्ला टोल छन् । फणिल्ला टोलमा केरा बाहेक सुन्तला खेती पनि गर्ने गरिएको छ । भैसी पालनको प्रचुर सम्भावना र आलु खेतीको पकेट क्षेत्रपनि कोर्ध हो । माहुरीको मह समेत धेरै मात्रामा पाइने गरेको छ ।
उत्पादनका लागि उर्वरा भूमिकै रुपमा कोर्ध रहेको भन्छन्, बडीमालिका-६ का वडा अध्यक्ष कृष्ण खड्का । सहज बाटो छैन् । नजिक बजार छै्रन् । त्यो भन्दा बढी किसानमा व्यवसायीक खेती गर्ने इच्छाशक्ति नभएर हो, नत्र बर्षेनी करोडौंको आम्दानी केरा खेतीबाटै हुने संभावना रहेको अध्यक्ष खड्काको दाबी छ ।
हालको आम्दानी आँकलन गर्दा पनि कोर्धका स्थानीयले बर्षेनी करोड बढीको आम्दानी केरा खेतीबाटै गर्ने गरेको देखिन्छ । एक परिवारले मासिक ५ सय देखि ३ हजारसम्म कमाउने गरेका छन् । ४ सय ७७ परिवार सबैको आम्दानी जोड्दा वर्षभरि गाउँमा केरा खेतीबाटै डेढ करोडसम्म आम्दानी हुने गरेको अनुमान वडाकार्यालयको छ । सबैले विक्री गर्छन् भन्ने छैन्, केही आफै खान्छन्, कोही विक्री गर्छन्, तर आम्दानी हेर्दा एउटै गाउँमा व्यवासायीक विना धेरै हुने गरेको वडा सदस्य परे बडुवालले बताए ।
स्थानीय चन्द्र खड्का, कालु खड्का, खन्टे खड्का, दल खड्का सहीतको परिवारले सिंगो परिवार नै केरा खेतीबाट पाल्ने गरेका छन् । कोर्धका लागि नजिक बजार छैन् । सदरमुकाम मार्तडी बोकेर नै ल्याउनु पर्छ । आउन जान नै गाडी भाडा असुल नहुने हुँदा कतिपयले आफैले खाने र थप केरा खेतीका लागि वास्ता नगर्ने गरेको पाइन्छ ।
गाउँ पुग्न सडक बनेको छ । तर कच्ची छ । नियमित सवारी सधान चल्दैनन् । चलेपनि मार्तडी पुग्न २ देखि ३ सय रुपैया एकतर्फी भाडा मात्रै लाग्ने गर्छ । बजार समस्याले व्यवसायीक खेतीमा नलागेको गुनासो स्थानीयको छ । उसोत गाउँमा कृषि उपज संकलन केन्द्र पनि बनेको छ । रपनि ढुवानी समस्या कायम देखिन्छ । बजार ग्यारेन्टी छैन् ।
मेहनत बिना पनि केरा खेती उत्पादन भइरहेको छ । सीप अनुभवकै प्रयोग गरेर व्यवसायीक खेती गर्न सके, बाजुराका लागि आवश्यक केरा कोर्धमै उत्पादन हुने देखिन्छ । त्यसका लागि योजना सहीत लागि परेको नगर प्रमुख अमर खड्काले बताए । कृषि एम्बुलेन्स किनिसकेको छ । अबका योजना पनि उत्पादन र आम्दानीसँग जोडेर नै तय गर्ने योजनामा छ, उनले भने कोर्धलाई केरा खेतीकै हब बनाइन्छ ।
खड्का आफै दुई पटक गाउँ पुगेर किसानसँग छलफल गरिसकेका छन् । पालिकामा भौतिक विकाससँगै उत्पादनका गतिविधीमा जोड दिने योजनामा रहेका खड्काले उत्पादन किसानले गरिदिनु पर्यो, बजार र बाटोको ग्यारेन्टी हामी गर्छौ । किसानले मेहनतको आम्दानी पाउने नीतिगत व्यवस्था सहीत बजेट विनियोजन गर्ने खड्काको भनाई छ ।
पकाएर बेच्नु भन्दा काचो केराका घडीहरु विक्री गर्दा किसानलाई फाइदा हुने भएकोले त्यतातिर पनि ध्यान दिन आग्रह गरे । किसानले भने प्राविधिक नै गाउँमा पठाएर आवश्यक ज्ञानसीप दिन अनुरोध गरेका छन् । कोर्धको जमिन भिरालो छ । पाखो जमिन हो, तर जताततै केरा खेती गर्न सकिने संभावना छ ।
भीरमा समेत आफै उम्रिएर केरा फलेका छन् । कोर्धमा पशुपालन देखि जडीबुटी, पर्यटन देखि दलहनबाली सबैको उत्पादन हुन्छ । संभावना पनि छैन्, त्यो भन्दा कम लगानीमा राम्रो आम्दानीका लागि केरा खेतीको झनै संभावना रहेको कृषि विज्ञहरुको सुझाव छ । पानी पनि घारमा पारिलो पनि यस्तो भूगोलमा सबैप्रकारको खेती राम्रो हुने उनीहरु बताउँछन् । केरा खेती सहज गर्न सकिने भएकोले महिलाहरुलाई जोड्न पर्ने सुझाव नगर उपप्रमुख नन्दा कुमारी थापाको छ ।
२ हजार २ सय बढी वडामा जनसंख्या छ । ती मध्ये हाल ४ सय ६० जना बढी वैदेशिक रोजगारका लागि भारत सहीत देशमा गएको तथ्याकं वडाकार्यालयसँग छ । स्थायी जागिरे कमै छन् । व्यापारमा पनि संलग्नता कमैको छ । यो अवस्था सुधारका लागि कृषि खेती बाहेक अर्को विकल्प नभएको र त्यसमा पनि प्रमुख खेती केरा नै हुने भन्छन्, वडा अध्यक्ष कृष्ण खड्का ।
जमिन जतिपनि छ । जंगल छेउमा गरेपनि उत्पादन हुने देखिन्छ । यो वर्षको प्राथमिकता नै केरा खेतीमा हुनेछ, खड्काले भने । नगरपालिकाले पनि आलु, तरकारी, सीमी मकै, मुला र केरा खेतीलाई प्राथमिकतामा राखेर नीति बनाउने लक्ष्य लिएको छ । वडाका स्थानीयले पनि केरा खेतीकै लागि बजेटको माग गरेका देखिन्छ ।
प्रतिक्रिया