गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४१
Dho

४ महिनाको अवधिमा बाजुरामा ३ जनामा डेंगु संक्रमण

धेरै फैलिन सक्ने संकेत, सतर्कता अपनाउन जिल्ला अस्पतालको आग्रह
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २३, २०८०
४ महिनाको अवधिमा बाजुरामा ३ जनामा डेंगु संक्रमण

बाजुरा : बाजुरामा ३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार वैशाख देखि यता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको बताईएको छ । जिल्ला अस्पतालमा डेंगुको सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष खप्तड छेडेदह गाउँपालिकाका रहेका छन ।
डेंगु सङ्क्रमण पुष्टि भएका जना सदरमुकाम मार्तडी बस्दै आएका र जिल्ला अस्पतालमा परीक्षणका क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले बताए । वर्षात सुरु भएसंगै अस्पतालमा आउने मध्ये डेंगुको लक्षण भएका बिरामीहरु मध्ये ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
डाक्टरका अनुसार डेंगुबाट बच्न सबैले सरसफाइमा बिषेश ध्यान दिएर सचेत रहन आग्रह गरिएको छ । डेंगु जिल्ला सदरमुकाम मार्तडी र कोल्टी उच्च जोखिममा रहेको छ । 
डेंगुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउँको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महशुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ  ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४  । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर  अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । 

डेंगु विश्वभरकै समस्या

विश्व स्वास्थ्य संगठनको ( डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।

डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् ।

विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया