गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:२५
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज १५, २०८१
कोशी र वाग्मतीमा बुधबार पनि वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एक/दुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेपछि बौरिँदै गरेको वाग्मती र कोशी प्रदेशमा बुधबार पुनः भारी वर्षाको सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मतीको कुन स्थानमा भारी वर्षा हुन सक्छ भन्नेबारे भने आफ्नो तीनदिने मौसम बुलेटिनमा केही खुलाएको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र वाग्मतीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताए । ‘मंगलबार पनि मौसममा आंशिक मात्रै बदली रहने देखिन्छ ।

बुधबार देशभर आंशिक बदली भए पनि कोशी र वाग्मतीका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ,’ उनले भने । गजुरेलका अनुसार अहिले पनि नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम रहेको छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

जसकारण मंगलबार साधारणदेखि आंशिक बदली भई मुख्यतः मौसम सफा रहने तर केही ठाउँहरूमा भने हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतः मौसम सफा रहनेछ भने कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, कोशी र वाग्मतीका केही स्थानमा भने भारी वर्षा हुन सक्ने देखिन्छ ।

विभागले हरेक दिन बिहान र बेलुका तीन दिनसम्म मौसम पूर्वानुमान गर्ने गरेको छ । ‘हामीले तीन दिनसम्मको पूर्वानुमान गर्दै आएका छौं, त्योभन्दा पछाडिको अहिले नै अनुमान लगाउन सकिँदैन,’ मौसमविद् गजुरेलले भने । उनका अनुसार दसैंमा भने ठूलो वर्षाको सम्भावना छैन । ‘अब फेरि यस्तै ठूलो विषम वर्षाको सम्भावना त देखिएको छैन । तथापि जलवायुको कुरा हो । नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिएको पनि छैन ।

त्यसैले यकिन गरेर भन्न सकिँदैन,’ गजुरेलले भने, ‘अहिलेकै अवस्थामा दसैंमा ठूलो पानी पर्ने जोखिम छैन । तर मनसुन कायमै रहेकाले देशैभर खण्डित वर्षा हुन सक्छ ।’ उनले अहिलेको अवस्थामा सकेसम्म रात्रिकालीन यात्रा नगर्नु नै उचित हुने सल्लाह पनि दिए । ‘सकेसम्म छोटो यात्रा मात्रै गर्ने । लामो दूरीको यात्रा गर्दा आफ्नो गन्तव्यको मौसम पूर्वानुमान हेर्ने र सतर्कता अपनाउनु उचित हुन्छ,’ उनले भने ।

गत बिहीबारदेखि शनिबारसम्म भएको भारी वर्षाले ठूलो जनधनको क्षति गरेपछि मानिसहरूमा अब यात्रा गर्ने वा नगर्ने, गर्दा कसरी सावधानी अपनाउने भन्ने अन्योल छ । फेरि उस्तै जोखिमपूर्ण वर्षा र बाढीको सम्भावना भए/नभएकोबारे समेत सर्वत्र चासो छ । मौसमविद्हरूले भने तत्कालै फेरि यस्तै भारी वर्षाको सम्भावना नभए पनि यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् ।

भारी वर्षाले जमिन गलेका कारण सकेसम्म रात्रिकालीन यात्रा नगर्नु उपयुक्त हुने मौसमविद्हरूको सुझाव छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.मदन सिग्देल तत्कालै भारी वर्षाको जोखिम नभए पनि रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुने सुझाउँछन् । ‘अहिले जसरी पूर्वदेखि पश्चिमसम्म एकैसाथ भारी वर्षा भयो, यस्तो खालको मनसुनी प्रणाली यही वर्ष विकिसत हुने अवस्था अब देखिएको छैन,’ उनले भने, ‘बाँकी त मनसुन रहुन्जेल ठाउँठाउँमा वर्षा हुन सक्छ ।

तर यसो भनेर हेलचेक्य्राइँ गर्नु पनि हुँदैन । अहिले निकै लामो समयपछि ठूलो पानी परेकाले जमिन गिलो भएको छ । थोरै वर्षा हुँदा पनि बाढीपहिरोको सम्भावना हुन्छ । सँगसँगै चर्को घामका कारण सुक्खा पहिरोको पनि जोखिम बढ्छ ।’ सोमबार बेलुका मलेखुनजिकै त्यही भएर सुक्खा पहिरो खसेको उनले बताए ।

‘दिउँसो चर्को घाम लागेपछि सुक्खा भएर राति फेरि सुक्खा पहिरो खस्ने सम्भावना बढी हुन्छ । मलेखुनजिकै भएको पनि त्यही हो,’ उनले भने, ‘त्यसकारण तत्कालका लागि रात्रिकालीन यात्रा असुरक्षित हुन्छ । सकेसम्म राति यात्रा नगरकै राम्रो हो ।’

उनले केही दिन मौसममा राम्रो सुधार भएको अवस्थामा भने ८/१० दिनपछि फरक अवस्था हुन सक्ने बताए । यो वर्ष अक्टोबरको दोस्रो सातासम्ममा मनसुन बाहिरिएर जान सक्ने उनी बताउँछन् । ‘अब विस्तारै पश्चिम नेपालबाट मनसुन बाहिरिँदै जान्छ । अक्टोबरको पहिलो–दोस्रो सातासम्ममा मनसुन बाहिरिन हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया