सुर्खेत ः चर्चित जुम्लाको मार्सी धानको बिउ छरेर सकिएको छ । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ चैतको अन्तिमसम्ममा छरिएको हो । तालिका अनुसार चैत १२ गते बिउ भिजाउने, १६ गते भिजेको बिउ उतारेर घाममा सुकाउने र २० गते ब्याडमा छर्ने तालिका रहेको छ ।
१२ गते धानको बिउ राख्ने दिन कर्णाली प्रदेश सरकारले बिदासमेत दिने गरेको छ । २० गते नै धानको बेर्ना राखिने जुम्ला सिंजा गाउँपालिका–५ रत्न रोकाय बताउँछन् । ‘इतिहासदेखि चलिआएको तालिका अनुसार मार्सी धान २० गते खेतमा बिउ छरिएको सकिएको छ,’ उनले भने, ‘किसानले चैत २० गते मार्सी धानको बिउ आ-आफ्नो बेर्नामा छरेर राखेका छन् ।’ चैत १६ गते किसानले सिरौँला कुटेर खाने चलनसमेत रहेको हिमा गाउँपालिका–७ का राजबहादुर शाहीले बताए ।
‘भिजाएको बिउ सुकाएको दिनमा सिरौँला र चिउरा बनाउने चलन रहेको छ,’ उनले भने,‘यो चलन परापूर्व कालदेखि चल्दै आएको छ ।’ संसारमै सबैभन्दा उचाइ अर्थात् समुन्द्र सतहबाट करिब तीन हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । उच्च भूभागमा झण्डै आठ महिना समय लिएर उत्पादन हुन्छ ।
मार्सी धानसँग जोडिएको विसुवा पर्व जुम्लाका सिंजा क्षेत्रका नरवीर बुढाका अनुसार जुम्लाको सदरमुकाम खलङ्गा वरपर र सिंजा क्षेत्रमा काली मार्सी धानको बीउ राख्ने काम हरेक सालको चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र यही दिन एउटा तामाको खड्कुलो वा हुड्डीमा धान भिजाएर घरको कुनै ठाउँमा यसलाई सुरक्षित राखिन्छ । चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ ।
यसलाई पखालिन्छ र फेरुवा वा लिउ (उनको कपडा विशेष) मा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । त्यो रासलाई तातोस् भनेर सल्लाको झाँपो तथा कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ ।
यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१/२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र स्थानीय नाचगानसहित यसै दिन चेलीबेटीलाई बोलाएर मिठो मिठो खाना खुवाइन्छ । देउडा नाच नचाइन्छ । यही कारण यो दिनलाई विसुवा पर्व भन्ने गरिएको हो ।
बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् । यहाँ चैत १२ गते कालीमार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा मनाउने प्रचलन छ । यी दिनमध्ये छर्ने दिन २० गतेलाई विशेष रूपमा मनाइन्छ । बिउ छर्ने बेला यहाँ मौलिक चलन रहेको पाइन्छ ।
चैत २० गते ब्याडमा धानको बिउ छर्नुपूर्व त्यसको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङ्गा ठडाइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । विवाहित र अविवाहित महिला पनि दुईपट्टि भएर नै नाचगान गर्छन्, विसुवा पर्व मनाउँछन् ।
काली मार्सी धानको इतिहास
काली मार्सी धान जुम्लामा पहिलो पटक चन्दननाथ बाबाले भित्र्याएको पाइन्छ । तर कहिले भित्रियो भन्नेबारेमा स्पष्ट मिति भने छैन ।
चन्दननाथ बाबाले पनि कहिले र कहाँबाट यो धानको बीउ ल्याए भन्ने यकिन तथ्याङ्क छैन । बाली विज्ञका अनुसार यो १४ औँ शताब्दीभन्दा पहिले हुनसक्ने अनुमान छ ।
जुम्लाको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ बाबाले भारतको काश्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुमजुल भन्ने ठाउँमा लगाएको भन्ने इतिहास भेटिन्छ ।
नेपाललाई विश्वमा चिनाउनेमध्येकै एक धान प्रजाति भएकाले नेपालमा धानको इतिहास निकै पुरानो हो । कतिपयले १२औँ शताब्दीमा काली मार्सी नेपाल भित्रिएको बताउँछन् ।
कति हुन्छ उत्पादन
दुई हजार ८९० हेक्टर धान खेती रहेकामा २० प्रतिशत रैथाने काली मार्सी धान उत्पादन भइरहेको कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।
मार्सी धानमा ब्लास्टर रोगले हैरान बनाएको समयमा कृषि अनुसन्धान (केन्द्र) विजयनगर नार्कले काली मार्सीको अनुसन्धानसमेत गरेको छ । नार्कले परीक्षण गरेर निकालेको धानको बिउ जिल्लाका चार स्थानमा समूह सहकारीमा बेर्ना राख्नका लागि सुरु गरिएको छ ।
त्यस्तै काठमाडौं, पोखरा, विराटनगर, सुर्खेतलगायत देशका ठुला सहरका होटेलमा मार्सी चामलको खाना ब्रान्ड भइरहेको छ । मार्सी धान जेठको पहिलो साताबाट रोप्ने, असार, साउनमा गोड्ने र कार्तिकमा भित्र्याउने चलन पनि रहेको छ ।
प्रतिक्रिया