धनगढी : धनगढी–काठमाडौँ हवाई भाडादर अस्वाभाविक रूपमा बढेको छ। धनगढी विमानस्थलदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्मको हवाई भाडा बढेर १६ हजार ६३५ रुपैयाँ पुगेको हो। दशैँ–तिहार सुरु नहुँदै काठमाडौँ–धनगढीको हवाई भाडादर बढेका बेला अहिले धनगढी–काठमाडौँको भाडादरसमेत बढेको छ।
धनगढी–काठमाडौँ भन्दा काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर सस्तो छ। नेपाल सरकारले न्यूनतम र अधिकतम गरेर हवाई भाडादर निर्धारण गर्दै आए पनि निजी विमान कम्पनीहरूले मनोमानी गर्दै आएका छन्। जसका कारण यात्रुमाथि आर्थिक भार थपिएको छ। एक यात्रुले भने, ‘धनगढी–काठमाडौँ भाडा ७ हजार ८ सय थियो। अहिले १६ हजार ६ सय भयो। दशैँको बेला १४ हजार मात्र थियो।
अहिले त, १६ हजार भयो।’ तिहारको समय सकिएसँगै धनगढी–काठमाडौँ हवाई भाडादर अकासिएको हो। भोलि (बुधवार) धनगढी–काठमाडौँको हवाई भाडा न्यूनतम १४ हजार एक सय ६० देखि अधिकतम १६ हजार ६४५ रुपैयाँसम्म छ। दशैँ–तिहारका लागि सुदूरपश्चिम आएकाहरू काठमाडौँ फर्किने समय भएकाले हवाई भाडादर अकासिएको हो। हवाई टिकटको माग धेरै भएपछि भाडादर पनि महँगो भएको नागरिक उड्डयन प्राधिकरणको तर्क छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले माग धेरै भएकाले भाडा बढेको बताए। उनले भने, ‘नेपाल सरकारले न्यूनतम र अधिकतम तोक्ने हो। अधिकतमभन्दा बढी लियो भने, कारबाही हुन्छ। तर सिमाभित्र भएपछि कारबाही हुँदैन।’ नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले न्यूनतम र अधिकतम हवाई भाडादर निर्धारण गर्ने गरेको छ।
तर, सोही मौका छोपेर निजी हवाई कम्पनीहरूले मनलाग्दी रूपमा यात्रुहरूबाट भाडा असुल्ने गरेका छन्। अन्य समयमा ७ हजार हुने धनगढी–काठमाडौँ र काठमाडौँ–धनगढी हवाई भाडादर दशैँ–तिहारको सयमा बर्सेनि महँगो हुने गरेको छ।
सो त धनगढी–काठमाडौँ हवाई भाडाभन्दा काठमाडौँ–नयाँ दिल्लीको भाडा सस्तो छ। धनगढी–काठमाडौँ हवाई भाडा १६ हजार ६४५ रुपैयाँ पुगेका बेला काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडा ६ हजार २१२ रुपैयाँ मात्र छ। हवाई इन्धनको मूल्य घटेको समयमा पनि विमान कम्पनीहरूले हवाई भाडा दोब्बरले बढाएका छन्।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता पाण्डेले एक रुपैयाँ इन्धन मूल्य घटेको बताए। इन्धनको आधारमा हवाई भाडा बढ्ने गरेको उनले बताए। नेपाल सरकारले विमान कम्पनीहरूलाई न्यूनतम र अधिकतम भाडा निर्धारण गरेर सेवा दिन भनेको छ।
प्रतिक्रिया