काठमाडौं : गुमेको शक्ति आर्जन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि पुरानै सपना बाँडेका छन्। शनिबार काठमाडौंमा आयोजित खबरदारी सभामा उनले भने, ‘जनताको छोराछोरीलाई अब म बन्दुक बाँड्ने पक्षमा छैन। उहाँहरूलाई उत्पादनको औजार दिन्छौं। उत्पादनमा लगाउँछौं।’
२०६९ सालताका प्रचण्डले माओवादीको सातौं हेटौंडा महाधिवेशनमा भनेका थिए, ‘माओवादी अब उत्पादन वृद्धिमा केन्द्रित हुन्छ। १० वर्षसम्ममा देश धनी बनाउँछौं। मुलुक धनी नभएसम्म अरूबाट हेपिनुपर्छ।’ यसरी सपना बाँडेको करिब १२ वर्ष बिते पनि पूरा गर्न सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रोजगारीका लागि परदेश हानिनेहरूको ताँती छ।
त्यो भीडलाई सम्झिदै प्रचण्डले शनिबार राजधानीमा नयाँ शैलीमा पुरानै कथा सुनाए। हेटौंडा महाधिवेशनपछि प्रचण्डले २ पटक सरकारको नेतृत्व गरिसकेका छन्। माओवादी शान्ति सम्झौतामा आएको झन्डै दुई दशकयता निरन्तर सरकारमै रह्यो। उसले सरकार छोडेको तीन महिना मात्रै बितेको छ ।
गुमेको सत्ता र शक्ति आर्जन गर्न अनि प्रचण्डले भने, ‘अब उत्पादन सेना गठन गरेर देशमै सबै युवालाई रोजगारी दिन्छौं।’ बाटो बिराउँदा देशमा उत्पादन बिग्रेट स्थापना गर्न नसकेको प्रचण्डको जिक्किर थियो। खबरदारी सभामा भने, ‘जनमुक्ति सेनालाई उत्पादन ब्रिगेडमा रूपान्तरण गर्छौं भनेर हेटौंडा महाधिवेशनबाट निर्णय लिएका थियौं।
तर, त्यसमा चुक भयो।’ अब उत्पादनका लागि नयाँ सेना तयार गर्ने बताउँदै उनले जिक्किर गर्दै भने, ‘भ्रष्ट र दलालबिरुद्ध त्यो सेना उतार्छौं।’ अनि प्रचण्डले सम्झिए उमेर, शक्ति र सत्ता खबरदारी सभामा प्रचण्डले राजनीतिक जीवनमा गरेको गल्तीबारे चर्चा गरे। त्यसक्रममा उनले आफ्नो उमेर सम्झिए। गुम्दै गएको शक्तिबारे घोत्लिए। भविष्यबारे योजना चुहाएँ।
‘म ७० वर्ष लागे। तर, ७० भएको जस्तो लाग्दैन’, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार अझै पूरा नभएको उल्लेख गरे, ‘मैले अर्को नयाँ आन्दोलन र अभियानको नेतृत्व गर्छु। अब जनयुद्ध र सशस्त्र हतियारको माध्यबाट होइन् जनक्रान्तिका मार्फतबाट बिचौलिया र भ्रष्टहरूविरुद्ध लडाइँ लड्छौं। ’ वैमान, बिचौलिया र भ्रष्ट पार्टीसँग मिलेर चुनाव नलड्ने उनले फेरि उद्घोष गरे।
समीकरण बनाएर चुनाव लड्दा माओवादी कमोजीर भएको दलिल पेस गरे। ‘अब भ्रष्टहरूसँग मिलेर लड्दैनौं, २०८४ को चुनाव एकलै लड्छौं। जति ल्याउँछौं, एक्लै ल्याउँछौं’, एमाले र कांग्रेसलाई कडा टिप्पणी गर्दै उनले भने, ‘बीचमा गल्ती ग¥यौं, कमजोरी भयो। त्यसलाई सच्चाउँछौं।
माओवादी पार्टीहरूबीच एकता गर्छौं। २०८४ को चुनावलाई २०६४ जस्तो बनाइन्छ। भ्रष्ट र वैमान एमाले र कांग्रेसलाई जनताको तहबाटै सजाइ दिन्छौं।’ सशस्त्र युद्धको राततापबाट शान्तिपूर्ण राजनीतिमा आएका माओवादीले २०६४ को चुनवामा कुल गरेर २ सय २९ सिट पाएको थियो। त्यसयता माओवादी निरन्तर ओरालोको यात्रा हुँदै ३२ सिटमा सीमित भएको छ।
माओवादीले सरकारविरुद्ध गरेको खबरदारी सभामार्फत खासमा उसले आफ्नो शक्ति परीक्षण गरेको हो। १८ महिना सरकारको नेतृत्व गरेका प्रचण्डले भाषणको अन्ततिर भने, ‘म थाकेको छैन। हाम्रो कोही नेता, कार्यकर्ताहरू पनि थाकेको छैनन्। बरु जनता, कार्यकर्ता तथा समर्थकहरूको चिन्ता छ, माओवादी किन बिग्रियो ? किन फटाहासँग लाग्यो ?’ उनका अनुसार माओवादीमा केही धुलोमैलो लागेकै हो। उनले भने, ‘त्यसलाई पखाल्न चाहेका छौं।
यसको पार्टी बैठकमा निर्मम समीक्षा र आत्मआलोचना गरेका छौं।’ प्रक्रियावादीसँग समिकरण गर्दा माओवादी आन्दोलन धुमलिएको प्रचण्डको जिकिर रह्यो। ‘भ्रष्ट र जाली नेताहरूसँग संगत गर्दा हामी कताकता वर्ग र एजेन्डासँग टाढियांै। त्यसलाई गम्भीर समीक्षा गरेका छौं’, उनले सत्ताधारी दललाई चेतावनी दिँदै भने, ‘तपार्इंहरू ढुक्कसँग सरकार चलाए हुन्छ, अब हामी सरकारमा जाँदैनौं। अब जनताको घर दैलोमा जान्छौं। भए गरेको कमीकमजोरी सुनाउँछौं।
जनताले हामीलाई माफी दिने छन्।’ जनताको शक्तिबाटै कांग्रेस र एमालेलाई तह लगाउने उनले ठोकुवा गरे। प्रचण्डले आफू वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको जिकिर गरे। सत्ता पक्षलाई व्यंग्य गर्दै उनले थपे, ‘संविधान र व्यवस्थाको रक्षाका निम्ति खबरदारी सभा आयोजना गरेका हौं। केपी जी, तपाईं नेतृत्वको सरकार ढाल्न सडकबाट हामी प्रयत्न गरेको नठान्नु होला।’
आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताउँदै उनले भने, ‘अब हामीलाई प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्न जाँदैनौं।’ सरकार पूरै अवधि चलोस् भन्दै प्रचण्डले थपे, ‘भ्रष्टाचारीको रक्षा र बिचौलियाको पक्षमा काम गर्ने सरकार आफंै कुहेर ढल्छ।’ माओवादीले खबरदारी सभा गर्दा सरकारलाई डर पैदा भएको प्रचण्डको दाबी थियो।
प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै भने, ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर डर पैदा भएको छ। सरकार ढल्ने डरमा बिचौलिया र भ्रष्टचारीलाई अझै बढी संरक्षण नगर्नु होला।’ जबसम्म चुनाव लड्न करोडौं रुपैयाँ चाहिन्छ तबसम्म भ्रष्टाचार नरोकिने उनले बताए। ‘त्यसका लागि जनतबाट निर्वाचित राष्ट्रपति अनि पूर्ण समानुपातिक संसद् चाहिन्छ।
अनि भ्रष्टाचार त्यहीँबाट अन्त्य हुन्छ’, उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई मैले भेटे भन्ने स्याल हुँइया छ। मैले भटेको छैन। झापालगायत कताकता भटेको भनेर हल्ला फिजाइएको छ त्यो सबै झुट कुरो हो।’ सहकारी ठगी प्रकरणमा दोषीदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही भोग्न तयार हुनुपर्ने प्रचण्डले बताए। ‘दोषी कोही बच्नुहुँदैन, निर्दोष कोही पनि उम्किनु हुँदैन।
रवि दोषी भए कारबाही हुनुपर्छ। सबै सहकारी तथा लघुवित्त पीडतहरूले न्याय पाउनुपर्छ’, उनले भने, ‘जस्तोसुकै पहुँचवाला सहकारी ठग र भ्रष्टाचारी भए पनि सरकारले छानबिन गरेर कारबाही गर्नुपर्छ। पूर्वाग्राही भएर सरकारले सहकारी ठगमाथि कारबाही गर्नुहुँदैन। भ्रष्टाचारको मुद्दामा यदि प्रचण्डै दोषीदेखि पनि ग्रिफ्तार गर्नुपर्छ।’ राणा शासनको अन्त्यपछि आफ्नो नेतृत्वको सरकारले सुशासनका लागि क्रान्तिकारी काम गरेको प्रचण्डले दाबी गरे।
उनले भने, ‘जुन काम इतिहासमा रेकर्ड भयो।’ उनले बडो जालझेल, अपवित्र ढंगले कांग्रेस र एमालेले गठबन्धन बनाउँदै आफ्नो नेतृत्वको सरकार ढालेकोमा प्रचण्ड आक्रोश पोखे। माओवादीलाई फुटाउन सत्ताधारी दलहरूले षड्यन्त्र गरिरहेको प्रचण्ड आरोप लगाए।
उनले भने, ‘बिचौलियाहरूलाई प्रचण्ड र माओवादी पचेको छैन।’ नयाँ सरकार बनेकोमा आफूलाई चिन्ता नभएको बताउँदै उनले थपे, ‘तर, केपी ओली सरकार केका निम्ति ? र, किन बन्यो ? सुशासनको विरुद्ध र भ्रष्टाचारीलाई बचाउन बन्यो। हाम्रो चिन्ता त्यहाँ थियो। त्यो चिन्तालाई सरकारले पुष्टि नै गरेको छ।’
‘जनताको पक्षमा सरकारले काम गरोस्’
खबरदारी सभामा प्रचण्डसँगै माओवादीका अन्य शीर्षस्थ नेताहरू पनि बोलेका थिए। माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारले देशलाई संकटको दिशातिर धकेल्दै गएको आरोप लगाए। उनले भने, ‘उपलब्धिको अपहरण गर्ने कुचेष्टा भइरहेको छ। देश डुब्ने लागेपछि चुप लागेर बस्दैनौं।’
संघीय लोकतान्त्रिक गणतन्त्रसहितका ऐतिहातिक उपलब्धिहरूलाई रक्षा गर्नु आजको कार्यभार रहेको उनले बताए। देशले सामाजिक र आर्थिक विकासको अपेक्षा गरेको नेता श्रेष्ठको भनाइ थियो। देश र जनताको पक्षमा काम गर्न सरकारलाई दबाब दिन सरकार, सदन र सडक गरी तीनवटै मोर्चासहित माओवादी अगाडि बढेको उनले स्पष्ट पारे।
२००७ सालपछिको कुनै पनि सरकारले नगरेको काम प्रचण्ड सरकारले गरेको नेता श्रेष्ठको दाबी थियो। उनले भने, ‘भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्यायौं। उनीहरूको निन्दराम भएको थियो।’ प्रचण्ड नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य, भ्रष्टाचार विरोधी अभियान सञ्चालन र मिटरब्याज विरुद्धको कानुन निर्माणको काम गरेकोे बताउँदै उनले थपे, ‘यी काम गर्दै गर्दा प्रचण्ड नेतृत्वको सरकार ढाल्यो।
भ्रष्टाचारीहरूलाई जोगाउन र बच्न नयाँ सरकार गठन भयो। जसले दुई दलीय सिन्डिकेट लाद्न खोज्दै छ।’ माओवादी केन्द्रका पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले सरकार गैरजिम्मेवार हुँदा नागरिकका जनजीवनका सवालहरू झन्–झन् जटिल र पेचिलो बन्दै गएको बताए।
उनले भने, ‘राष्ट्र निकै समस्यामा फस्दै गएको छ। जब–जब राष्ट्र र राष्ट्रियता कमजोर अवस्थामा हुन्छ अनि माओवादी सडकमा आउँछ।’ ओली सरकारको एक सय दिनलाई विश्लेषण गर्दा भ्रष्टचारी, बिचौलिया, माफियाहरूको सरकार बन्न पुगेको आरोप लगाए। उनले भने, ‘देशको युग परिवर्तनको नेतृत्व गरेको हामी सरकारलाई त्यसै छोड्दैनौं।
विपद्मा सरकारले पीडितहरूको उद्धार र राहतमा काम नगरेर घाउमा नुनचुन लगाउने काम ग¥यो।’ सरकारले जनताको हितमा काम नगरेको उनको जिक्कर थियो। सत्ता पक्षले लोकतन्त्रको दुहाई दिन नसुहाउने नेता सापकोटाको कथन थियो। उनले भने, ‘सत्ता पक्षले पार्टीहरूलाई फुटाउने र कमजोर बनाउने हर्कत गरिरहेको छ। लोकतन्त्रको मर्म र भावनाविपरीत काम गरिरहेको छ।’
भ्रष्टाचारको दल दलमा देशलाई फसाएर देशको अस्तित्व मेटिन लागेको उपाध्यक्ष सापकोटाले दाबी गरे। ‘कल्पनै गर्न नसिकने घटनाहरू अगाडि आइरहेको छ। देश संकटमा छ तर, महान अवसरको संघारमा पनि छ। महान् सम्भावना र गम्भीर चुनौती पनि सँगसँगै छ’, उनले भने, ‘हामी सरकारको खबरदारी गर्न चाहन्छौं।
सरकारको रबैया सुध्रिएन भने देशभरि सशक्त प्रतिकार गर्छौं।’ माओवादी केन्द्रका सचिव हितमान शाक्यले सामान्य खबरदारी सभाले सरकार थुरथुर काम्न थालेको दाबी गरे। माओवादी स्थायी समिति सदस्य यशोदा सुवेदीले भ्रष्टाचारीलाई संरक्षण गर्न सरकारले बेलगाम काम गरिरहेको दाबी गरिन्।
सरकारको अलोकतान्त्रिक गतिविधिको जनताले सशक्त प्रतिकार गर्ने उनले बताइन्। स्थायी कमिटी सदस्य पर्शुराम तामाङले देश र जनताका लागि नभएर दलाल र पुँजीपति वर्गलाई संरक्षण गर्न नयाँ सरकार बनेको आरोप लगाए। अन्नपूर्ण पोस्टबाट साभार
प्रतिक्रिया